हरिप्रसाद कोइराला
मोरङ । होलि,चुनाव र स्थानीयको मागका कारण मोरङको पथरीशनिश्चरे १ को बजार खण्डमा रोकिएको सडक विस्तारको काम सुचारु हुने भएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार योजना कार्यालय इटहरी, स्थानीय सरोकारवाला उपभोक्ता र निर्माण कम्पनी बिच शनिबार पथरी बजार खण्डको सडक पूर्ण सहरी मापदण्ड अनुसार ५० मिटरको बनाउने लिखित सहमति भएपछि काम सुचारु भएको हो । एसियाली विकास बैंकको सहयोगमा निर्माण भइरहेको महेन्द्र राजमार्ग निर्माण गर्नु अघि सरकार, दातृ निकाय र स्थानीय सरोकारवालाहरू बिच ग्रामीण तथा जङ्गल क्षेत्रमा २४ मिटर, अर्धशहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा ५० मिटर चौडाईको सडक निर्माण गर्ने सहमति भएको थियो । त्यसबेला पथरी बजार क्षेत्रलाई अर्ध सहरी क्षेत्र मानेर सडकको डिपीआर बनेको थियो । तर, छिमेकी उर्लाबारी नगरपालिकको बजार क्षेत्र ५० मिटरमा छ लेन सडक सहित फुटपाथ र नाला बन्ने भएपछि पथरीशनिश्चरे १ बजारबासीले सडक ५० मिटर नबने काम रोक्ने चेतावनी दिएका थिए । नगर प्रमुख मोहनप्रसाद तुम्बापोले नै सहमति नभई काम अघि नबढाउन आग्रह गरेपछि काम रोकिएको थियो ।
सडक उपभोक्ता समेत रहनु भएका संघर्ष समितिका सदस्य राजेन्द्र भण्डारीले भन्नुभयो – सर्भिस लेन(फुटपाथ) नहुँदा राजमार्ग दक्षिणका वासिन्दाले मलामी जाँदा र उत्तरका वासिन्दाले नगरपालिका जाँदा समेत राष्ट्रिय राजमार्ग प्रयोग गर्नुपर्ने भएको छ । नगरपालिका प्रवेश गर्ने स्थान र घाट जाने स्थानमा क्रसिङ थिएन । त्यसैले हामीले उपभोक्ताको सहमतिमा सडक निर्माण गर्न आग्रह गरेका हौं । वडा नं.१ का वडाध्यक्ष भीमकुमार राईले सडक ५० मिटरको चौडाईमा विस्तार गर्दा सडकको ‘राइट अफ वे ’मा ८२ वटा घर टहरा पर्ने जानकारी दिनुभयो । राईका अनुसार घर टहरामा १ फुट देखि नौ फिटसम्म क्षति हुने देखिएको छ । यस वाहेक खानेपानी उत्तर तर्फ १७ वटा घरहरू रहेको सुकुम्बासी बस्ती छ । उहाँले घर टहरा हटाउने वडा र नगरले जिम्मा लिने जानकारी दिनुभयो । धेरै उपभोक्ताले आफ्ना घर टहरा आफैं हटाइसक्नु भएको वडाध्यक्ष भीमकुमार राईको भनाई छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार योजना (पश्चिम खण्ड) कार्यालय इटहरीका आयोजना प्रमुख जगत प्रजापतिले शनिबार पथरी बजार क्षेत्र ५० मिटरको बनाउने सहमति जुटेको जानकारी दिनुभयो । उहाँका अनुसार बजार पूर्वको लाटीहोली देखि पश्चिम तर्फ पथरी पूलसम्मको झण्डै सात सयमिटर सडक ६ लेन, फुटपाथ र नाला सहितको हुने भएको छ । सडकको ‘राइटअफवे’ नगरपालिकाले क्लियर गरिदिनेछ । निर्माण कम्पनीले आइतबार देखि नै काम सुरु गरिसकेको आयोजना प्रमुख प्रजापतिले बताउनु भयो ।






