हरिप्रसाद कोइराला
उर्लाबारी । मानिसका आ–आफ्ना शौख हुन्छन् । कोही पैसा कमाएर शौखिन जीवन बाँच्छन् भने कोही नाम कमाउने शौखमा सामाजिक काम गर्छन् । मोरङको उर्लाबारी –४ का २९ वर्षीय रमेश भण्डारीले विगत नौ वर्ष देखि सर्प उद्दारको शौखलाई बचाइ रहनु भएको छ ।
पढ्ने र सिक्ने बेलामा २० वर्षको उमेर छँदा छिमेकी प्रेम विष्टसँग रमेशको सङ्गत भयो । बिष्ट बन कार्यालयको सुरक्षाकर्मी(बनजाँचे)हुनुहुन्थ्यो । सर्प उद्दारमा सिपालु बिष्टको सङ्गत गर्दागर्दै रमेशमा पनि सर्प उद्दारको भोग जाग्यो । ठूला र विषालु सर्प कुनै उपकरण बिना च्यापच्याप समात्ने कला थियो ,प्रेम विष्टसँग । बिष्टसँग सर्प उद्दार गर्न सिक्दासिक्दै रमेशले पनि अविषालु सर्प समात्न थाल्नुभयो । पहिलोवर्ष अविषालु सर्प समात्दा थुप्रै पटक सर्पले डस्यो । विष नभएका सर्प समात्न वा उद्दार गर्न त्यति जोखिम भएन । डसिहाल्यो भने पनि मरिन्न भन्ने आत्मविश्वास हुँदो रहेछ ।
रमेशको सर्प उद्दार गर्ने अभियान यत्तिकैमा रोकिएन । प्रेम बिष्टसँग हिड्दा हिड्दै उहाँले विषालु सर्पको उद्दार गर्ने विधि, प्रक्रिया र सर्पको परिस्थितिजन्य स्वाभावहरू अध्ययन गर्ने मौका पाउनु भयो ।
नौ वर्षको अवधिमा रमेशले १ हजार ३ सय भन्दा बढी सर्प उद्दार गरिसक्नु भएको छ । कहिले खेत खलियानबाट त कहिले भान्छाघरबाट । ओछ्यानबाट समेत विषालु करेत सर्प उद्दार गरिसक्नु भएका भण्डारी विषालु सर्प देख्ने वित्तिकै जोखिम र सर्तकता अपनाउनु पर्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो – सर्पले उद्दारकर्तालाई चिन्छ जस्तो लाग्छ । उद्दारकर्मी पुगेपछि सर्पहरू धेरै सर्तक हुन्छन् । सर्पलाई ढुङ्गा हान्ने, लाठी प्रहार गर्ने,घोच्ने वा आगो लगाउने गर्नु हुँदैन । त्यसो गरियो भने सर्प आक्रमक हुन्छन् । ज्यान बचाउन हिंस्रक हुनसक्छन । सर्पलाई पीडा नभई मानिस प्रति आक्रमक हुँदैन । सर्पले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्। खेतबारीमा हुने मुसा नियन्त्रणदेखि कीटाणुहरू नियन्त्रण गर्न समेत सर्पको योगदान रहन्छ। तर, मानिसहरूमा अझै पनि सर्पप्रति भय रहेको देखिन्छ । यही भय हटाउन रमेश भण्डारी अचेल विभिन्न विद्यालय, किसान समूह तथा स्थानीय संस्थाहरूमा सर्पसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै हिड्नुहुन्छ ।नीजि खर्चमा कार्यक्रमहरू गरिरहनु भएका भण्डारी भन्नुहुन्छ –‘ उनीहरूको वासस्थान जोगाउन सके सर्पहरू घरमा पस्दैनन । तर, मानिसहरू कै कारण सर्पहरू पनि जोखिममा परेको भण्डारीको बुझाई छ ।’
रमेशलाई सुरुका दिनमा घर परिवारका सदस्यले यस्तो जोखिम काम नगर्न सुझाउनुभयो । तर, रमेशले कसैका कुरा नसुनि सर्प उद्दारलाई निरन्तरता दिइरहनु भएको छ । अचेल वर्षायाममा दैनिक जसो सर्प उद्दारमा उहाँको दैनिकी बित्छ । सर्प उद्दार स्वयंसेवी काम हो । पैसा कमाई नभएपनि रमेश दिनरात नभनी सूचना आउनासाथ घरबाट निस्किनु हुन्छ । उहाँ भन्नुहुन्छ–पैसा नकमाए पनि नाम चलेको छ । त्यसैलाई सम्पति मानेको छु ।






