पथरी २४ भदौ । मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्ती स्थित डाँसमोरङ्गी सामूदायिक वनले साधारण सभामा निमन्त्रणा गरिएका पाहुनाहरूलाई निगुरो र जिब्री साग उपहार दिएको छ ।
शनिबार भएको २२ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि, अतिथिहरू र सञ्चारकर्मीलाई सागका पोका मायाको चिनो स्वरुप उपहार दिइएको हो । स्थानीय महिलाहरूको आय आर्जनको गतिलो माध्यम बनेको निगुरो र जीब्री साग सामूदायिक वन क्षेत्रमा पाइने जङ्गली साग हो । निगुरो र जीब्री साग लोपोन्मुख अवस्थामा छन् । दुबै प्रजातिका सागलाई बिस्तार गर्न सामूदायिक वनले विशेष कार्यक्रम ल्याएको छ । त्यति मात्र होइन, सामूदायिक बनले दिएको ढाका बुन्ने तालिममा सहभागि भएका महिलाहरू बुनेको गलबन्दी पनि पाहुनाहरूलाई उपहार दिइएको थियो ।
सामूदायिक वनसँग आस्रित महिलाहरूबाट उत्पादित सामग्रीको प्रबद्र्धन र बजारीकरणमा तीनै तहका सरकारले सहयोग गर्नु पर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिनुभयो । सामूदायिक वनका अध्यक्ष मदन पोख्रेलले निगुरो र जिब्री सागलाई सधैं हरियो राख्ने प्रविधि, टपरी र ढाका कपडाको बजारीकरणमा समस्या रहेको औंल्याउनु भयो । स्थानीय महिलाले बनसँग आस्रित रहेर घर मात्र चलाएका छैनन् । दुईचार पैसा बचत पनि गर्न थालेका छन् । त्यसैले बजार बिस्तार आवश्यक छ । सोही अवसरमा सामूदायक वनले १४ जना वृद्ध–वृद्धालाई सम्मान गरेको थियो । विपन्न तथा जेहन्दार ७ जना विद्यार्थीलाई छात्रवृति र अति विपन्न ६ परिवारलाई खाद्यान्न वितरण गरिएको कार्यक्रममा १० जना दूग्ध उत्पादक किसानलाई क्यालसियम वितरण गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका मोरङ–३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनीलकुमार शर्माले सामूदायिक वनमा आस्रित परिवारको जिविकोपार्जनका लागि राज्यका निकायहरूसँग सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निगुरो साग टिपेर आफूले पनि बेचेको सस्मरण गर्दै भन्नुभयो–छोरा छोरी स्वेदश बस्न छोडे । बिदेश गएपछि फर्कने अवस्था छैन् । राज्यको संरचना यही रहिरहने हो भने धमाधम वृद्धाश्रम बनाउन थाले हुन्छ । उहाँले फरक प्रसङ्गमा नीजि विद्यालयलाई गुठीमा लैजाने नीति गलत भएको बताउनु भयो ।
सामूदायिक वनका अध्यक्ष मदन पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका सांसद गीता तिम्सिना ,सामूदायिक बन महासंघका अभियन्ता सदस्य अग्नि पौडेल लगायतले बोल्नु भएको थियो ।






