कानेपोखरी १४ असोज । मोरङको कानेपोखरी गाउँपालिकाले ३३ औं ज्येष्ठ नागरिक दिवसका अवसरमा पालिका भित्रका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सामूहिक रुपमा सम्मान गरेको छ ।
आइतबार कानेपोखरी गाउँपालिका परिसरमा भएको कार्यक्रममा पालिका अध्यक्ष राजमति इङ्नामले १२० जना वृद्ध–वृद्धालाई सम्मान गर्नुभयो । वृद्ध –वृद्धाको सहाराका रुपमा एक थान टर्चलाइट , लौरो,छाता, दोसल्ला र यातायात खर्च वापत जनही ३÷३ सय रुपियाँले वृद्ध–वृद्धाको सम्मान गरिएको हो । जनही २ हजार ५ सय रुपियाँ बराबरको जिन्सी सामग्रीबाट सम्मानित भएका ज्येष्ठ नागरिकहरूले गाउँमा सरकार आएको अनुभुति भएको बताउनु भयो ।
दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुहुँदै पालिका अध्यक्ष राजमती इङ्नामले स्थानीय सरकारले संविधानको कार्यान्वयन गर्दै हरेक नागरिकलाई स्थानीय सरकार रहेको प्रत्याभूति दिलाउने बताउनुभयो । उहाँले आमाबुबा भनेका साक्षात भगवान रहेकाले उहाँहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै उहाँहरू अनुभवबाट युवा पुस्ताले देश र समाजको इतिहास अध्ययन गर्न सक्ने बताउनु भयो ।







