हरिप्रसाद कोइराला
सिंहदेवी(मोरङ) । गाउँमा विकास नपुगेको भन्दै मोरङको सिंहदेवीबासीहरू धमाधम तराई झर्न थालेका थिए । त्यसबेला साँच्ची नै सिंहदेवीमा सडक,स्वास्थ्य,सञ्चार,खानेपानी र विद्युतको सुविधा थिएन ।द्वन्द्वले थिलथिलो भएको सिंहदेवीमा को कति बेला मर्छ टुङ्गो थिएन । भौतिक असुविधा मात्र होइन । शारीरिक असुविधा पनि भएपछि उराठलाग्दा डाँडा रुँघेर किन बस्ने ?२०५५÷०५६ साल तिर स्थानीयको साझा बुझाई यही थियो ।
२७ वर्ष पहिले अर्थात २०५५ सालमा तत्कालिन सिंहदेवी –५ मा नारायण राईले चियाको ब्यावसायिक खेती गर्ने योजना बुन्नुभयो । तराई झर्न ईच्छुक छिमेकी आफन्त साथीभाइ सबैको जग्गा उहाँले किनी दिनुभयो । बैदेशिक रोजगारमा ओमन बसेर ११ वर्ष कमाएको सबै सम्पत्ति उहाँले एकपछि अर्को जग्गा जोड्दै चिया रोप्दै गर्नुभयो । तराई झर्न ईच्छुक सबैको जग्गा खरिद गरिदिएकोले उसबेला नारायण राई प्रति छिमेकी र स्थानीय खुसी थिए । तर, पनि उराठ लाग्दा डाँडा । जहाँ सिंचाई छैन । तराई झर्नेहरू पछाडि कुरा गर्थे ,‘नारायण राई डुब्छन् ,बिचरा फसे ।’
तर, जग्गा किनेपछि नारायणले चियाखेती लगातार बिस्तार गर्नुभयो ।
एकैपटक २०७२ सालमा ६ लाख विरुवाको नर्सरी राख्नु भयो । चिया विकास वोर्डले ब्यावसायिक चिया खेती विस्तारका लागि २ लाख रुपियाँ अनुदान पनि दियो । चार रोपनीमा राखेको चियाको नर्सरीका बिरुवाले झण्डैे साडे पाँच सय रोपनीमा चिया विस्तार भयो । सुरुमा रामेछाप,सिन्धुली र नुवाकोटबाट बिरुवा ल्याउनु भएका राईले पछि आफैं नर्सरी राख्न थाल्नुभयो । त्यति मात्र होइन ,गाउँमा पनि नारायण र उहाँकी पत्नी विना खजुम राईलाई पछ्याउने धेरै भए । बीनाले भन्नुभयो –‘सुरुका दिनमा चिया रोप्दा हाँसि उडाउनेहरू पनि अहिले चियाको बिस्तारमा लाग्नु भएको छ ।
२०७८ साल असोज १ गते कोभिडसँग जुद्धाजुद्धै नारायणप्रसाद राईको मृत्यु भयो । त्यसपछि मातृभुमि चिया कमानको नेतृत्व बीनाले आफैं सम्हाल्नु भएको छ । औषत मानिस नेपालमा चिया खेती भन्ने वित्तिकै झापा र इलाम जिल्लालाई सम्झन्छन् । तर,मोरङको केराबारी–२ सिंहदेवीमा नारायण राईले सुरु गर्नु भएको चिया खेतीलाई बीनाले पूर्ण ब्यावसायिक बनाई सक्नु भएको छ ।
मातृभूमि टि स्टेटमा हाल २० करोड रुपियाँ लगानी भइसकेको छ । वार्षिक ५ हजार केजी चिया उत्पादन गरिरहेको कम्पनीले आफ्नै प्रशोधन मेसिनबाट प्रशोधित ग्रीनटि (हरियो चिया)को उत्पादन गरि बजार पठाई रहेको छ । बीनाले भन्नुभयो –दुई हजार पाँच सय केजी सम्झौता अनुसार एउटा कम्पनीलाई दिने गरेका छौं । कालो चिया दुई हजार केजी उत्पादन हुन्छ । पाँच सय केजी ग्रीन टि स्थानीय बजार ,प्रदर्शनी स्थलमा बिक्री हुन्छ । बसाई सराईले कामदार नपाएपछि बीनाले ताप्लेजुङ र पाँचथरबाट ल्याएको तीन परिवारलाई आवासीय सुविधा दिएर राख्नु भएको छ । होमस्टे समेत सञ्चालन गर्नु भएकी राईले चियाको काम गर्ने १३÷१४ जना कामदारले बगानमा काम नभएको बेला होमस्टेमा सहयोग गर्ने जानकारी दिनुभयो । वार्षिक ५० लाख रुपियाँको कारोवार गरिरहेको चिया बगानले अझै पूर्ण रुपमा आम्दानी दिन थालेको छैन् । उहाँले भन्नुभयो – छोराछोरीका लागि गतिलो जग बसाई दिएका छौं । पूर्ण रुपमा उत्पादन सुरु हुँदा वार्षिक एक करोड रुपियाँ आम्दानी हुने उहाँको भनाई छ ।
बीनाले हाल मातृभुमि कृषि फर्म पनि सञ्चालनमा ल्याउनु भएको छ । फर्ममा गाई,बाख्रा, कुखुरा, हाँस रहेका छन् । गड्यौला मल र झोल मल आफैं तयार गरेर किवीको ब्यावसायिक खेती समेत गरिरहनु भएकी बीनाले भन्नुभयो–‘एउटै मात्र ब्यावसायले सङ्कट पार गर्न नसकिने बुझेपछि कृषि फर्म सुरु गरको हुँ ।






