हरिप्रसाद कोइराला
रतुवामाइ । चौतिस वर्षको प्रतीक्षापछि मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिढाली बजारसँग जोड्ने रतुवा खोलामा झोलुङ्गे पुल बनेको छ ।
मिर्चाडाँगी र पिढालीका वासिन्दाले ३४ वर्ष देखि रतुवाखोलामा झोलुङ्गे पुल बनाउन माग गर्दै आएका थिए । वारिपारिका दुई गाउँ जोड्ने झालेङ्गेपुल नहुँदा पुल पारिका वासिन्दा वर्षायाममा भारत हुँदै वडा र नगरपालिका कार्यालय आउने जाने गर्थे । नेपाल सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विकास विभागले ‘मिर्चाडाँगी–महादेवा मल्टिस्प्यान ट्रेल ब्रिज’ निर्माण गर्न थानी निर्माण सेवालाई ठेक्का दिएको थियो । ७ सय ४७ मिटर लम्बाईको झोलुङ्गे पुल भ्याटसहित १९ करोड ८२ लाख ४४ हजार ६ सय ६२ रुपियाँमा निर्माण सम्पन्न भएको हो । सम्झौता अनुसार २ वर्षमा पुल निर्माण गरिसक्नु पर्ने थियो । २०८२ असार ११ गते भएको सम्झौता भई २४ महिना अर्थात २०८४ असार १० गते निर्माण सम्पन्न गर्नुपर्ने पुल १३ महिना अगावै निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि लोकबहादुर बस्नेतले बताउनु भयो ।
नेपाल–भारत सीमासँग जोडिएको मिर्चाडाँगीको पश्चिम र उत्तर तर्फमात्र नेपाल पर्छ । पुल नहुँदा वर्षायाममा रतुवा खोलामा आउने बाढीका कारण स्थानीयले ज्यान जोखिममा पारेर आवत जावत गर्नुपर्ने अवस्था थियो ।स्थानीय हरिना देवी गनगाईले भन्नुभयो ‘वर्षाको समयमा गाउँमा कोही विरामी पर्दा भारत हुँदै नेपाल फर्केर विराटनगर पुग्नुपर्ने बाध्यता थियो । आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न भारत हुँदै नेपाल आउनु प¥थ्यो ।
स्थानीयले भन्दा मिर्चाडाँगीका बालबालिकाले झन ठूलो सास्ती झेल्दै आएका थिए । मिर्चाडाँगीमा कक्षा ३ सम्म मात्र पढाइ हुने भएकाले कक्षा ४ देखि माथिका कक्षा पढ्न रतुवा खोला पश्चिमको पिढाली पुग्नुपर्छ । बाढी आउने दुई महिना जति विद्यालय जानै नसकिने अवस्था हुन्छ । पिढालीको भानु आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत शीतलकुमारी गनगाई भन्नुहुन्छ, ‘खोलामा बाढी आएपछि विद्यालय जान पाइँदैन।’ कति पटक त घर जाँदा बीच बाटो बाटै विद्यालय तर्फ फर्किनु परेको शीतलले सुनाउनु भयो । विद्यार्थीलाई दैनिक डेढ किलोमिटर भन्दा बढी दुरी बगर, धुलो र हिलो पार गर्दै विद्यालय जान समस्या हुने गरेको निशाकुमारी हरिजनले बताउनु भयो । उहाँका अनुसार हुने खानेका छोरीछोरी पिढाली मै बसेर पढ्छन् । तर,गरिवले धुलो, हिलो र घामको सास्ती सहँदै विद्यालय धाउनुपर्छ ।
रतुवा खोला र भारततर्फको सीमाले घेरिएको यो बस्ती वर्षाको समयमा नेपालसँग सम्पर्क विहीन हुने गरेको थियो । वर्षायाममा बिरामीलाई उपचार गर्न लान भारतको किसनगञ्ज जिल्लाको फूलबारी पुगेर पैकटोल हुँदै फेरि नेपालको डोरियाबाट झुर्किया हुँदै विराटनगर जाने गरिन्त्यो । साविक महादेवा गाविस हाल रतुवामाई नगरपालिकाको वडा नं. ३ भएको छ । वडाध्यक्ष देवीलाल ताजपुरियाले भन्नुभयो – मिर्चाडाँगीमा डेढसय घरधुरी छन् । गणतन्त्रपछिका जनप्रतिनिधिले बिजुलीसम्म पु¥याएका छन् । डेढ सय मध्ये १३ परिवार हरिजन(दलित)का घरछन् । झोलुङ्गेपुल निर्माण सम्पन्न भएपछि मिर्चाडाँगीका बासिन्दाको दशकौँदेखिको पीडा अन्त्य भएको छ। स्थानीयका अनुसार पुल सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, व्यापार र आवतजावत सबै क्षेत्रमा ठूलो सहजता आउँनेछ।






