उर्लाबारी । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले गत असोजमा आएको राष्ट्रिय विपत्तिबाट खानेपानीको पूर्वाधार क्षेत्रमा ६ अर्वको क्षति भएको बताउनु भएको छ।
मोरङको उर्लाबारीमा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था र संघीय खानेपानी आयोजनाको वृहत सह लगानीमा दुई वर्ष अघि सुरु भई निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको आइतबार उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो । मन्त्री यादवले खानेपानी मन्त्रालयको नीति नै हर घरमा शुद्ध पानी पुर्याउने रहेकोले उर्लाबारीको तेस्रो वृहत लगानीको आयोजनाका लागि स्रोत सुनिश्चित गर्ने उल्लेख गर्नुभयो ।मन्त्री यादवले तराई मधेसमा पानीको भुमिगत स्रोत घट्दै जाँदा ठुलो चुनौति थपिएको बताउँनु भयो ।उहाँले भन्नुभयो – जलवायु परिवर्तन र चुरे दोहनको प्रभावबाट मुक्त हुन नसके शुद्ध पानी पनि हाम्रा लागि चुनौति बन्नेछ ।मन्त्री यादवले सानो स्रोत भएको खानेपानी मन्त्रालयसँग ४२ हजार साना ठुला खानेपानी उपभोक्ता समितिले काम गरिरहेको जानकारी गराउँदै उपभोक्ता समितिका असिमित मागहरू रहेको उल्लेख गर्नुभयो । उपभोक्ता समिति एकीकृत गरी वृहत आयोजना मार्फत काम गर्नुपर्नेमा जोड दिँदै उहाँले जसरी बैंक वित्तीय संस्था एकीकरण भए त्यसरी नै नजिक नजिकका उपभोक्ता समिति एकीकरण गरी वृहत आयोजना बनाउन सके देखिने गरी काम गर्न सकिने धारणा राख्नुभयो ।
उपभोक्ताहरूको ३० प्रतिशत ,संघीय खानेपानी आयोजनाको ७० प्रतिशत लगानीमा २८ करोड २८ लाख ५० हजार ८३८ रुपियाँमा निर्माण भएको आयोजना २०७९ साल भदौ ३० गते सुरु भएको थियो । दुई वर्षमा पुरा हुने भनिएको आयोजना निर्धारित समयमा नै सम्पन्न भएको हो ।
उर्लाबारी नगरपालिकाका वडा नं.८ र ९ दमक नगरपालिकाको वडा नम्बर १० , रतुवामाई नगरपालिकाको वडा नम्बर १० र पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ५ का उपभोक्ता लाभान्वित हुने यस आयोजनाले ४लाख ५० हजार लिटरको ओभरहेड ट्यांकीबाट पानी वितरण गरिरहेको छ । जसका लागि २०१ किलोमिटर पाइप विछ्याइ सकेको छ । उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष चिन्तामणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ १ का प्रतिनिधि सभा सदस्य डिगबहादुर लिम्बू ,कोशी प्रदेशका सांसद उमाकान्त गौतम,नगर विकास कोष महाशाखाका प्रमुख सुवास पन्त लगायतले बोल्नु भएको थियो । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव प्रमिला शाक्य , खानेपानी तथा ढल ब्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ , विराटनगर आयोजनाका प्रमुख सुरतलाल चौधरी लगायतको उपस्थिति थियो ।
आयोजनाको ओभरहेड ट्यांकी उर्लाबारी ९ आसामे टोलमा निर्माण भएको हो ।उर्लाबारीले यसअघि नगरका दुई स्थानमा सह लगानीमा खानेपानी ट्यांकी निर्माण गरी पानी वितरण गर्दै आएको छ।७० हजार ९०८ जनसंख्या रहेको उर्लाबारी नगरमा १७ हजार ६७० घरधुरी रहेका छन् ।जसमध्ये ९ हजार ३ सय घरधुरी यस अघि लाभान्वित भएका थिए भने यो आयोजना थपिएपछि थप ४ हजार १ सय घरधुरी लाभान्वित हुनेछन् ।सरकारले सन् २०३० मा सबै घरमा शुद्ध पानी वितरण गर्ने योजना लिएको छ ।जस अन्तर्गत उर्लाबारी खानेपानीले २०२७ भित्रै नगरका सबै वडामा शुद्ध पानी पुर्याउँने महत्त्वकांक्षी लक्ष राखेको अध्यक्ष चिन्तामणि पौडेलले बताउनु भयो । उर्लाबारी खानेपानी देशकै उत्कृष्ट खानेपानी आयोजनाका रुपमा सरकारबाट पुरस्कृत संस्था हो ।

























