Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरि कोइराला ,
धनपालथान । कोशी प्रदेश कै सबैभन्दा ठूलो दाबी गरिएको युनिक लाइभष्टक इन्टरप्राइजेजले वार्षिक बाख्राका चार सय पाठापाठी बिक्री गरिरहेको छ । बाख्रापालन स्रोत केन्द्रका रुपमा स्थापना भएको स्रोत केन्द्र पाँच वर्ष अघि सञ्चालनमा आएको हो ।
दक्षिणी मोरङको धनपालथान गाउँपालिका वडा नं.३ बेतौनामा रहेको स्रोत केन्द्रमा १० प्रजातिका ४५० बाख्रा, बोका र पाठापाठी रहेका छन् । कोशी प्रदेशमा पहिलो पटक सिरोही, अजमेरी, गुजरी,कोटा, तोतापुरी र साइन जातका बाख्रा भित्राएको युनिक लाइभष्टक इन्टरप्राइजेजले हालसम्म पूर्वाधार बाहेक २ करोड रुपियाँ लगानी गरिसकेको छ । त्यस्तै कोशी प्रदेशमा यसअघि ब्यावसायिक रुपमा पालिँदै आएका वारवरी,बोयर, जमुनापारी, खरी जातका बाख्रा पनि पालिएको छ । गर्भणी बाख्रालाई अलग खोर, माउ बाख्रालाई अलग,बोकालाई अलग खोरमा ब्यवस्थापन गरेको फर्मले बोका बिक्री नभएको अवस्थामा खसी पारेर अलग स्थानमा राख्ने ब्यवस्था मिलाएको छ ।
स्रोत केन्द्रका ब्यवस्थापक पङ्कज झाका अनुसार २२ बिगाहा जग्गामा १६० फिट लम्बाई र ३४ फिट चौडाईका तीन वटा र ५० फिट लम्बाई र ३० फिट चौडाईको एउटा गरी चारवटा आधुनिक खोरमा बाख्रापालन सञ्चालन गरिएको छ । सुरुमा विराट पोल्ट्री फर्म सञ्चालन भएको पूर्वाधारलाई परिवर्तन गरी बाख्रापालन स्रोत केन्द्र निर्माण गरिएको झाको भनाई छ । पोल्ट्री फर्म सञ्चालन गर्दा स्थानीयबाट अवरोध भयो । त्यसपछि हामी बाख्रापालन तर्फ लागेका हौ ,झाले भन्नुभयो । फर्ममा हाल नौ जनाले रोजगार पाइरहनु भएको छ ।
थोरै समयमा छिटो बढ्ने जातका बाख्रामा स्थानीय बाख्रालाई प्रजनन गराई पाठापाठी हुर्काउँदै आएको युनिक लाइभष्टक इन्टरप्राइजेजले पछिल्लो तीन वर्षमा २८ जिल्लामा बाख्राका पाठा बिक्री गरिसकेको छ । ब्यवस्थापक झाले भन्नुभयो – मासिक ४ लाख ५० हजार ब्यवस्थापन खर्च छ । बैंकको साँवा र ब्याज यहीँको आम्दानीबाट ब्यवस्थापन भइरहेको छ । आजसम्मको शुद्ध नाफा भनेको २ करोडका यिनै बाख्रा, बोका र पाठापाठी हुन् । ’ दुई जना पशु प्राविधिक राखेर उपचारको प्रबन्ध मिलाएको स्रोत केन्द्रले पाठा पाठी जिउँदो प्रति केजी १५ देखि १८ सय रुपियाँमा बिक्री गरिरहेको छ । हाल १ सय वटा पाठापाठी बिक्रीका लागि तयारीमा रहेको झाले बताउनु भयो ।
बाख्रापालन केन्द्रलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङले समय समयमा औषधि र घाँसको बीउ निशुल्क ब्यवस्थापन गर्दै आएको छ । यसका अतिरिक्त सरकारी सहयोग केही पनि छैन् । झा अनुसार विभिन्न जिल्लाबाट अवलोकनका लागि किसान आउने गरेको छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डाक्टर अजयकुमार साहले कोशी प्रदेशमा युनिक फर्म नै सबैभन्दा ठूलो ब्यावसायिक फर्म भएको बताउनु भयो । राजस्थान, हरियाणा र पाकिस्तानमा पालिले बाख्राका प्रजाति ल्याएर युनिकले प्रजनन केन्द्र स्थापना गरेको छ । थोरै समयमा धेरै वजन हुने प्रजातिका बाख्राका पाठापाठी उत्पादन भइरहेको डाक्टर साहले बताउनु भयो । परम्परागत शैलीमा बाख्रापाल्दा खर्च धेरै र आम्दानी थोरै हुने गरेकोले विज्ञ केन्द्रले पनि किसानलाई सिरोही, अजमेरी, गुजरी,कोटा, तोतापुरी र साइन जातका बाख्रा पाल्न सिफारिस गरेको छ ।ज



Share via
Send this to a friend