कानेपाेखरी । मोरङको कानेपोखरी गाउँपालिकाले अपाङ्गता भएर पनि जिविकोपार्जनका ब्यावसाय तथा उद्यम गरिरहेका चार जनालाई नगद सहित सम्मान गरेको छ ।
३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर पालिकाले मङ्गलबार पूर्ण राई ,कविता चौधरी,मित्रप्रसाद दाहाल र कमल पाण्डेलाई नगद २ हजार ५ सय रुपियाँ सहित सम्मान गरेको हो । शारीरिक अपाङ्गता हुनु भएका पूर्ण फ्रेस हाउस सञ्चालन गर्नु हुन्छ भने कमल ट्राइसाइकलमा घुम्ती पसल सञ्चालन गर्नुहुन्छ, भने दाहाल बोर्डिङ स्कुलमा पढाउने गर्नुहुन्छ । अतिरिक्त समयमा १२ कक्षासम्मका विद्यार्थीलाई ट्युसन पढाउने मित्र सर स्थानीय स्तरमा लोकप्रिय हुनुहुन्छ । यस्तै सुस्त श्रवणकी कविता चिया पसल सञ्चालन गरेर जिविकोपार्जन गरिरहनु भएको छ ।
अपाङ्गता भएका उद्यमीहरूलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष राजमति इङ्नामले ब्यावसाय र उद्यम गर्न ईच्छाशक्ति चाहिने बताउँदै म गर्न सक्दिन भन्ने सोच हटाउने हो भने सबै खाले फरक क्षमताका मानिसले केही न केही गर्न सक्ने उल्लेख गर्नुभयो । सधैं आर्थिक सहयोग र चन्दा उठाएर जिविकोपार्जन गर्न भन्दा आफ्नो क्षमता अनुसारको ब्यवसाय पेशा गर्न आग्रह गर्दै उहाँले त्यसका लागि बीउ पुँजी जुटाउन पालिका तयार रहेको उल्लेख गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारीको सभापतित्वमा पालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा स्थानीय नव प्रगति संस्थाले समन्वय गरेको थियो । कानेपोखरीमा १२४ जना रातो कार्ड हुने ,२०९ जना निलो कार्ड हुने ,९९ जना पहेंलो कार्ड हुने र १९ जना सेता कार्ड भएका सहित ४५१ जना अपाङ्गता भएका मानिसहरू रहेका छन् । सरकारले रातो कार्ड हुनेलाई ३ हजार ९९० रुपियाँ,निलोलाई २ हजार १२८ रुपियाँ दिँदै आएको छ । गत वर्ष देखि कानेपोखरी गाउँपालिकाले पहेंलो कार्ड भएका लाई मासिक १ हजार रुपियाँ दिने ब्यवस्था सुरु गरेपनि हाल महालेखाले बेरुजु देखाएपछि उक्त रकम दिने ब्यवस्था रोकिएको छ ।

























