Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

विराटनगर / नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई थप सुविधा दिने भएको छ ।

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा उनको श्रीमान् वा श्रीमती बिरामी भई कोषमा सुचीकृत अस्पतालमा उपचार गराउँदा सहुलियतमा उपचार हुने व्यवस्था छ ।त्यसमा पनि विराटनगरको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले कोषमा आबद्ध बिरामीलाई उपचारको क्रममा गर्नु पर्ने सह भुक्तानी मिनाहा गरेर थप सुविधा दिएको हो ।

नेपाल सरकारको सामाजिक सुरक्षा कोष अन्तर्गत विभिन्न संघ संस्थाहरु आबद्ध भए यता सामाजिक सुरक्षामा योगदानकर्ताहरू लाखौँको सङ्ख्यामा रहेका छन् । सामाजिक सुरक्षा कोषले नियमितरुपमा मासिक रकम जम्मा गर्ने योगदान कर्ता र उनको श्रीमान् वा श्रीमतीलाई उपचारमा सहुलियत प्रदान गर्ने गरेको छ ।

यो सुविधा लिन विभिन्न सङ्घसंस्थामा कार्यरत योगदानकर्ताहरू र उनीहरूका श्रीमान् वा श्रीमती बिरामी भई सामाजिक सुरक्षा कोषमा सुचीकृत अस्पतालमा गई उपचार गराउनु पर्ने हुन्छ । सुरक्षा कोषको नियमानुसार बिरामी बहिरङ्ग विभागमा आई जाँच गर्दा सुरक्षा कोषले तोकेको शुल्कको ८० प्रतिशत कोषले व्यहोर्ने र २० प्रतिशत रकम बिरामीले तिर्नु पर्ने हुन्छ ।

भर्ना भई उपचार गर्दा पनि यस्तै गरी भुक्तानी गर्नु पर्दछ । यसलाई थप सहज पारी बिरामीले भुक्तानी गर्नु पर्ने सह भुक्तानी मिनाहा गर्ने निर्णय गरी नोवेलले कोषमा आबद्ध विभिन्न रोजगारदाता संघ संस्थासँग सहकार्य गर्दै आएको छ ।

सह भुक्तानी पनि तिर्न नपर्ने भए पछि बिरामीहरूलाई उपचार प्राप्त गर्न सहज भएको नोवेलका जनसम्पर्क अधिकृत नवीन दाहाल बत्ताउँछन् । उनका अनुसार बिरामीको सुविधाका लागि पर्याप्त मात्रामा नाम दर्ता र विलिङ्ग काउन्टरहरूको व्यवस्था गरिएको छ ।

सामाजिक सुरक्षा कोषको प्रावधान अनुसार नियमित योगदान कर्ता र उनको श्रीमान् वा श्रीमतीलाई बहिरङ्ग विभागमा वार्षिक २५ हजार सम्मको र भर्ना भई उपचार गराउँदा १ लाख सम्मको उपचार सुविधा उपलब्ध हुन्छ जसमा २० प्रतिशत सह भुक्तानी रकम बिरामीले बेहोर्नु पर्दछ ।

कार्यस्थलमा वा कार्यको सिलसिलामा दुर्घटना पर्दा कोषबाटै सम्पूर्ण उपचार खर्च प्राप्त हुन्छ भने अन्य अवस्थामा दुर्घटना हुँदा ७ लाख सम्मको उपचार सहुलियत प्राप्त हुने गरेको छ ।

नोवेलले सह भुक्तानी मिनाहा गरेको र दुर्घटना भई आकस्मिक उपचारका लागि आउने बिरामीलाई छिटोछरितो उपचारको लागि सहजकर्ताको व्यवस्था गरिएको अस्पताल निर्देशक डा. राजेश नेपाल बताउँछन् ।

सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समुदाय, संघ संस्था संग सहकार्य गर्दै बिरामीहरूलाई सहुलियत शुल्कमा र अति विपन्न बिरामीहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ ।

नेपालको पूर्वी भाग देखि सुदूर पश्चिमको विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर मार्फत लाखौँ बिरामीलाई उपचार सेवा पुर्याईसकेको छ भने त्यस्ता शिविरबाट रिफर भएका विपन्न बिरामीहरूलाई विराटनगर स्थित नोवेल शिक्षण अस्पतालमा र काठमाडौं मेडिकल कलेज (केएमसी)मा निःशुल्क उपचार पनि गर्दै आएको छ ।



Share via
Send this to a friend