कानेपोखरी । मोरङको कानेपोखरीमा बसोवास गर्दै आएका लोपोन्मुख माझी जातिले यस वर्ष आफ्नै गाउँमा ‘लदी पूजा’ मनाएका छन् । लदी पूजा माझी समूदायको सबैभन्दा ठूलो सांस्कृतिक चाड हो ।
यस अघि सप्तकोशी किनारमा पुगेर पूजाआजा गर्दै आएका माझीहरूले पहिलो पटक गाउँमै मोरङको कालीकोसी खोलाको किनारमा लदी पूजा गरेका हुन् । नेपाल माझी उत्थान संघका कानेपोखरीले गाउँपालिका भित्रका सातै वटा टोललाई कालाीकोशी किनारमा भेला गराएर सामूहिक पूजा गरिएको सङ्घका अध्यक्ष साउनी माझीले बताउनु भयो । कोशीसम्म पुग्न आर्थिक रुपमा समस्या भयो । टाढा जाँदा समय र खर्चको ब्यवस्थापन गर्न कठिन भयो । त्यसैले पालिका भित्र सातै टोलका माझी दाजुभाइलाई भेला गरेर पुजा गरेका हौं ।
माझीहरूले लदी पूजामा पानी ,नाउ (डुङ्गा) र माछा मार्ने जालको पूजा गर्ने गर्छन् । माझी समूदायको जीवन जिउने प्रमुख तीन आधार भित्र पानी, नाउ र जाल पर्ने भएकोले वर्षभरि नाउ नडुबोस,माछा मार्ने जाल नफाटोस र पानीले सधैंं साथ देओस भन्ने कामना गर्दै लदि पूजा गरिएको तान्त्रिक गुरु नगेन्द्र माझीले बताउनु भयो । उहाँका अनुसार गणेशको आराधनाबाट पूजा सुरु हुन्छ । जलशिकारी,नदी,नाउ,माछामार्ने जाल र माछा हाल्ने फुर्लुङको रितपुर्वक भिन्ना भिन्नै पूजा गरिन्छ । परेवा, बोका पाठीको बसल समेत दिइन्छ ।
हिउँद सकिएर वर्षायाम सुरु हुनु लागेपछि भेलबाढीले नाउँ र माझीलाई नबगाओस । सहज रुपमा पेशा ब्यवसाय चलोस । माछा मारेर सधैं बिक्री गर्न पाइरहोस भन्ने काम गरेर खोला किनारमा बिहान भर पूजा गरिन्छ । मध्यान्न पछि सबै जात जातिका मानिसलाई बोलाएर प्रसाद वितरण गरेपछि पूजा विधिवत समाप्त हुन्छ ।
परम्परागत रुपमा खोला तर्ने डुङ्गा चलाउने र माछा मार्ने ब्यावसाय गर्दै आएको माझी समूदाय खोलामा पूल निर्माण भएपछि ब्यावसायबाट विमुख हुँदै गएका छन् । एकातिर पुल बनेपछि डुङ्गा विस्थापित भयो भने अर्को तर्फ ब्यावसायिक माछापालन सुरुसँगै ठूला खोलामा माछा मार्न प्रतिबन्ध लगाइयो । जसले गर्दा माझीहरूको पुख्र्यौली पेशा सङ्कटमा परेको छ । सरकारी सेवामा समेत अत्यन्तै कम पहुँच रहेको यो समूदायबाट कोही पनि डाक्टर इन्जिनीयर छैनन् । माझी अगुवा भोजवीर माझीका अनुसार २०२१ को भुमि सुधार लागु भएपछि माझीको किपट खोसियो । त्यसपछि माझीहरू सुकुम्बासी बनेका हुन् । नेपालमा माझी समूदायको जनसङ्ख्या १ लाख ११ हजार ३५० रहेको छ भने कानेपोखरीमा १ हजार २ सय रहेको छ ।

























