Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपाेखरी । भूमि समस्या समाधान आयोग मोरङले जिल्लाको कानेपोखरी गाउँपालिकामा जग्गा नापजाँचको काम सुरु गरेको छ । शनिबार देखि वडा नम्वर ७ को प्रोगेसिप टोलबाट जग्गाको नापजाँच सुरु गरिएको कानेपोखरी ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले बताउनु भयो ।
सरकार परिवर्तन भएपछि लामो समय अवरुद्ध भएको काम सुरु भएपछि स्थानीयले खुसी प्रकट गरेका छन् । पालिकाले यस अघिको आयोगले गरेको कामलाई निरन्तरता दिँदै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जा वितरण गर्नका लागि जग्गा नापजाँचको काम सुरु गरेको हो ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले वडा नं. ४, ५, ६ र ७ मा एकैसाथ नापजाँचको काम अघि बढाइएको जानकारी दिनुभयो । यसअघि वडा नं. ४ र ६ मा काम भइरहेको थियो । भूमि समस्या आयोगसँग समन्वय गरी कर्मचारी र आवश्यक प्राविधिक उपकरणको व्यवस्था सहित काम थालिएको अध्यक्ष इङ्नामको भनाई छ । अध्यक्ष इङ्नामले गाउँपालिकाका सबै वडामा भूमिहीन, दलित र सुकुम्बासी समस्या रहेका कारण बाँकी वडाहरूमा पनि प्राथमिकताका साथ नापजाँचको काम विस्तार गर्ने बताउनु भयो ।
भूमि समस्या समाधान आयोग मोरङका अध्यक्ष नवीन पौडेलले जिल्ला मै सबैभन्दा बढी समस्या रहेको कानेपोखरीमा तीब्र गतिमा काम अघि बढाइने बताउनु भयो ।उहाँले अघिल्लो आयोगले गरेको काम जहाँ रोकिएको थियो , त्यहीबाट अघि बढ्ने गरी काम थालेको बताउनु भयो ।
गाउँपालिकामा हाल ५ हजार ८२ जना भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्याङ्क छ ।तर, चार दशकदेखि लालपुर्जाको पर्खाइमा रहेका सुकुम्बासीहरू हातमा धनीपुर्जा नपरेसम्म खुसी बन्नुको अर्थ नरहने बताउँछन् ।



Share via
Send this to a friend