Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

लेटाङ । उत्तरी मोरङको लेटाङ नगरपालिकाले चुरेमा चिउरी रोपेको एकपछि सोही स्थानमा अदुवाको ब्यावसायिक खेती सुरु गरेको छ । नगरपालिकाले २०८० सालमा चुरेमा चिउरीको वृक्षारोपण गर्ने र भुक्षय नियन्त्रण गर्ने कार्यक्रम तय गरी २० हजार चिउरीका बिरुवा रोपेको थियो ।
चिउरीका बिरुवा ९० प्रतिशत हुर्केका छन् । तिनै बिरुवाको बिच बिचमा अदुवा र बेसारको ब्यावसायिक खेती गर्न सकिने अध्ययन गरेपछि यसैवर्ष २ सय किलो अदुवाको बीउ रोपिएको राजारानी सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुजन मगरले बताउनु भयो । लेटाङ १ को राजारानी सामूदायिक वन उपभोक्ता समूहको साडे ५ हेक्टर खाली जमीनमा दोहोरो आम्दानी लिने गरी चिउरी र अदुवा खेती गरिएको हो ।तराईका सामूदायिक वनमा जस्तो राजारानी सामूदायिक वनमा साल, अस्ना, कर्मा जातका रुख छैनन् । ढलापडा रुख बिक्री गरेर मात्र सामूदायिक वन सञ्चालन गर्न समस्या छ । त्यसैले वनको अतिरिक्त आम्दानी वृद्धि गर्न अदुवा र बेसार खेती सुरु गरिएको हो । अध्यक्ष मगरले चिउरी खेतीबाट ब्यावसायिक मौरीपालक किसान उत्साही भएको बताउनु भयो ।
लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीका अनुसार नगरको पूर्व पश्चिम भूगोल भित्र साडे १३ किमी चुरे क्षेत्र पर्छ । मदन भण्डारी राजमार्ग निर्माण भएपछि चुरेमा पहिरोको जोखिम बढेको छ । लेटाङमा पनि मदन भण्डारी राजमार्गको थोरै भाग चुरेमा पर्छ । चुरेमा हुने पहिरोको जोखिम न्युनीकरण गर्न, पानीको स्रोत बचाई राख्न र चिउरीबाट बन्ने आयुर्वेदिक औषधिको कच्चा पदार्थ उत्पादन गर्न र मौरीको चरन क्षेत्र विस्तार गर्न चुरेमा चिउरी कार्यक्रम ल्याइएको हो । नगर प्रमुख लावतीले भन्नुभयो–चिउरी संकटापन्न अवस्थाको वनस्पति हो । जङ्गलमा चिउरी मासिसकेको छ । जङ्गल नै एकांकी भइरहेको छ । जङ्गलमा सबैखाले वनस्पति भए मात्र त्यो जङ्गलले वातावरण सन्तुलनमा राख्न सक्छ । नगरले वृक्षारोपणका लागि १५ लाख रुपियाँ बजेट छुट्याएको थियो । एक जना हेरालु राखेर विरुवाको संरक्षण गर्ने र ३ वर्ष भित्र उत्पादन लिने नगरको योजना छ । उहाँले चिउरीसँगै अदुवा र बेसार खेती सुरु भएपछि सामूदायिक वनको आम्दानी वृद्धि हुने बताउनु भयो । उहाँले चिउरीको विजुला प्रसोधन गरेर घ्यू निकाल्न सकिने समेत जानकारी दिनुभयो ।

 



Share via
Send this to a friend