हरिप्रसाद कोइराला,
रङ्गेली । कृषिमा अर्ध यान्त्रिकीकरण हुँदा दक्षिणी मोरङका मकै उत्पादक किसान यतिबेला चिन्तामा छन् ।
बैशाखको २३ र २४ गते दक्षिणी मोरङमा भीषण वर्षा भयो । अधिकांश किसानले मकै छोडाएर सुकाउने समय थियो । तर, मेसिनले छोडाएको मकै भण्डारण गरी राखेकै ठाउँमा बाछिटा पसेर भिज्यो । प्रति बिगाहा २ सय मन सम्म उत्पादन भएको मकै सुकाउन नपाउँदा धेरै किसानको मेहनत, श्रम र लगानी खेर गएको छ ।
वेमौसमी पानीले मकै भिजाएपछि किसानले यतिबेला विराटनगर –रङ्गेली –गौरीगञ्ज हुँदै भद्रपुरसम्मको हुलाकी सडकमा मकैको बिस्कुन लगाएका छन् । किसानलाई थाहा छ, मकैको बिस्कुनले सडक यातायातमा समस्या भइरहेको विषय । तर,किसान भन्छन्– मकै सुकाउनु हाम्रो वाध्यता हो । रङ्गेली–७ का गुलावचन्द सहनीले भन्नुभयो–खेती गहिरो भागमा पर्छ । सामान्य पानी पर्दा खेतमा पानी जम्छ । मकै उत्पादन गत वर्ष भन्दा यो वर्ष राम्रो भयो । तर,मकै सुकाउने ठाउँ छैन् । थोरै उत्पादन हुँदा त्रिपाल, चटलमा सुकाउने हो । बिगाहाको १८० मन मकै फलिरहेको छ । यत्रो परिमाणको मकै सडकमा सुकाउनु बाध्यता हो । उहाँले भन्नुभयो – तीन् तहका सरकारले मकैको बीउमा अनुदान दिन्छन । सिंचाईको लागि बोरिङको बन्दोवस्त गरिदियो ।
खोसेला सहित मकै छोडाउने यन्त्र पनि गाउँ मै उपलब्ध । तर, समयमा मल र मकै सुकाउने ड्रायर मेसिन उपलब्ध हुँदैन । लाखौं खर्चेर उत्पादन गरेको अन्न खेर जान त दिनु भएन नि ,सहनीले सडकमा मकै सुकाउनुको बाध्यता सुनाउनु भयो ।
सहनी प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । अधिकांश किसान मकै सडक मै बिस्कुन लगाउँछन् । रङ्गेली –७ का उगनलाल मण्डलले भन्नुभयो–एक विगाहामा मकै लगाउन ५० हजार रुपियाँ लगानी हुन्छ । हामी आफैं खट्छौं । जन(मजदुर) लगाउने हो भने ८० हजार देखि १ लाख रुपियाँ खर्च हुन्छ । बिगाहामा १८० मन मकै फलेन भने घाटा लाग्छ । यो वर्ष मकैको मूल्य सुरुमै प्रति क्विन्टल ३ हजार ५ सय भएको छ । मूल्य राम्रो आए पनि बेमौसमी पानीले मकै भिज्दा धेरै जसो किसान निरास छन् ।
रतुवामाई –५ परेवाखोपीका हरिप्रसाद श्रेष्ठले भन्नुभयो –पहिलो लटको झण्डै ४ सय मन मकै भिज्यो । सुकाउने उपाय केही नहुँदा ठूलो घाटा ब्योहोर्नु प¥यो । श्रेष्ठको गाउँ सडक भन्दा भित्र पर्छ । श्रेष्ठले आफ्नो नीजि चार विगाहा र ११ विगाहा लिजमा लिएर १५ विगाहा मकै लगाउनु भएको छ । राष्ट्रिय वाणिज्य बैंकबाट कृषि कर्जा लिएर खेती गरिरहनु भएका श्रेष्ठले भन्नुभयो –कृषि मजदुर पनि आवश्यक परेको बेला पाइन्न । मकै रोप्ने मेशिन छ । गोड्न मजदुर नै लाग्नु पर्छ । भाँच्न मजदुर चाहिन्छ । खोसेला सहित र नाङ्गो मकै छोडाउने मेशिन आयो । सुकाउने प्रविधि छैन् । उहाँले अर्ध यान्त्रिकीकरणले गर्दा किसान मारमा परेको सुनाउनु भयो । पहिले पहिले कृषि मजदुरले वर्षभरि काम पाउँथे । त्यसैले गाउँ मै बस्थे । अहिले आधाउधि काम यन्त्रले गर्छ । गाउँमा काम नपाइने भएपछि कृषि मजदुरहरू भारतको पञ्जाव र हरियाणा तिर लागेका छन् ।
श्रेष्ठले यो वर्ष मात्र १५ लाख खर्चेर पाइनर ३३५५ जातको मकै लगाउनु भएको थियो । अहिलेको मूल्य रहि रहेपनि यो वर्ष २० लाख जति शुद्ध बचत हुने उहाँको अनुमान छ । श्रेष्ठले खेतीका लागि आवश्यक सबै यन्त्र उपकरण जोडिसक्नु भएको छ । ट्याक्टर,धान काट्ने मेशिन, छोडाउने मेशिन सबै उहाँसँगै छ । अर्को वर्ष देखि लागत घटाएर अझ बढी आम्दानी लिने श्रेष्ठले बताउनु भयो । तर,किसानलाई मकै सुकाउने ड्रायर मेशिन अनिवार्य भइसक्यो ।

























