Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
मोरङ । सरकारले प्रमुख खाद्य बाली धानको बीउ स्वदेश मै उत्पादन गर्न ठूलों लगानी गरे पनि किसानले नेपालमा उत्पादित बीउलाई अझै प्राथमिकतामा राखेका छैनन् ।
बीउको परनिर्भता अन्त्य गर्न कोशी प्रदेश सरकारले सरकारी,नीजि र समूदाय स्तरबाट ३८ वटा बीउ उत्पादक संस्थालाई सहयोग गरिरहेको छ । त्यसमध्ये झापामा ११ वटा सुनसरीमा १४ मोरङमा चार र उदयपुरमा ४ वटा संस्था बीउ उत्पादनमा सक्रिय भएर लागेका छन् । कोशी प्रदेश सरकारको कृषि विकास निर्देशनालयका निमित्त प्रमुख प्रकाशकुमार डाँगीका अनुसार सरकारी स्तरबाट झापाको चन्द्रगढीमा कृषि विकास फार्म चन्द्रडाँगी र सुनसरीमा बीउ विजन उत्पादन फार्म झुम्का सञ्चालनमा रहेका छन् । निर्देशनालयका अनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ दशमलव ७२ हेक्टरमा धान खेती हुने गरेको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा हरेक वर्ष १८ हजार ८१९ दशमलव ३४ मेट्रिक टन बीउ आवश्यक पर्छ । जसमध्ये नेपाली उत्पादनले ४० प्रतिशत माग मात्र पुरा गर्छ । किसानले परम्परागत रुपमा राखेको बीउले ५ प्रतिशत माग पुरा गर्दै आएको छ भने बाँकी भारत लगायत तेस्रो देशबाट आयात गर्नु पर्छ ।
कार्यालय प्रमुख डाँगीले भन्नुभयो – ५५ प्रतिशत बीउ अझै पनि अपुग छ । उहाँका अनुसार नेपाली बीउ गुणस्तरीय भए पनि सचेतनाको अभावमा किसान आकर्षित हुन सकेका छैनन् । उहाँले भन्नुभयो – हामीले उत्पादन गरेका बीउ माटो , मौसम सुहाउँदा छन् । नयाँ रोग भित्रिदैन । कुनै समस्या आए उपचार गर्न सकिन्छ । तर, किसानले यो विषय बुझेको पाइदैन । निर्देशनालयले दिएको तथ्याङ्क अनुसार कृषि अनुसन्धान परिषदले नेपालमा बहुगुणी–१ र २ ,सुख्खा १,२,३,४,५ र ६,हर्दिनाथ –१,२,३,४ ,५ र ६ सावित्री, स्वर्णसव–१,राधा–४,७,११,१२,१३ र १४,मकवानपुर –१,चैते २,५ र ६ धान लगाउन सिफारिस गरेको छ । यस्तै अनुसन्धान परिषदले चैया–३,घैया–३,गङ्गासागर –१ र २,लोकतन्त्र, तरहरा –१,२साम्वा मन्सुली सव १,साँवा मन्सुली, रामधान,खुमल–४,६,१०,११,१२,१३,१४ र बासमती सिफारिस गरिएको छ । यस्तै सुगन्धित लल्का बास्मति,सुनौला सुगन्धा,शुद्धोधन कालानमक,पोखरेली जेठोवुढो,छोमरोङ,माछापुच्छ«े–३,चन्दननाथ–१ र ३ ,लेकाली धान – १ र ३ रोप्नका लागि कृषि अन्सन्धान परिषदले सिफारिस गरेको छ ।
कृषि अनुसन्धान परिषदले सिफारिस गरेका मध्ये कोशी प्रदेशमा विभिन्न २५ प्रजातिका धान लगाउने गरिएको छ । कार्यालयको तथ्याङ्क अनुसार कोशीमा लल्का बासमति, साँवा मन्सुली सव–१,हर्दिनाथ – १ र ६,बहुगुणी–२स्वर्णसव–१,राधा– ४ र १२,कालो नुनिया, रामधान,तरहरा– २ जातका धानको खेती हुने गरेको छ । यस्तै शुद्धोधन कालानमक,रञ्जित,गङ्गासागर, मकवानपुर–१,खुमल ४,६,८,१०,११ कान्छी मन्सुली , चैते २ र ५ जातका धान कोशी प्रदेशमा प्रमुख रुपमा लगाइन्छ ।
सरकार, नीजि क्षेत्र र समूदायले उत्पादन गरेका गुणस्तरीय बीउ बजारमा प्रसस्त भए पनि किसानले भारतीय रञ्जित,बीबी ११ र सोर्ना जातका धान लगाउने गरेका छन् । सरकारले यि तीनै जातका धानलाई नेपालमा प्रतिबन्ध गरेको छ । सीमा क्षेत्रका किसानले भारतीय ब्यापारीसँग झिकाएर धानको बीउ ल्याउने गरेका छन् । रङ्गेली –९ को प्रकाश वीज भण्डारका वीपीन मण्डलले भन्नुभयो – किसानको माग उच्च छ । भारत र वङ्गलादेशका बीउको उत्पादन राम्रो हुन्छ । यो सिजनमा आफूले ३ हजार बोरा (२५ केजीका बोरा) बीउ बिक्री गरिसकेको मण्डलले सुनाउनु भयो । मण्डलले दक्षिणी मोरङका रतुवामाई,सुनवर्षी ,रङ्गेली नगरपालिका ,विराटनगर महानगरपालिका र धनपालथान र जहदा गाउँपालिकामा आफू जस्तै सय बढी ब्यापारी रहेको जानकारी दिनुभयो ।
तर,निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगी भारत र बङ्गलादेशबाट आउने बीउसँगै विभिन्न रोग आउने बताउनु हुन्छ । ति बीउहरू हाम्रो माटोका लागि उपयुक्त छैनन् । हामीले किसानलाई सचेत गर्न सकेका छैनौं । सरकारले एक जातको वीउ विकास गर्न ३÷४ वर्ष समय खर्चिन्छ । ठूलो लगानी भएको हुन्छ । प्रत्येक पालिकाले किसानलाई सचेत गराउनु पर्ने डाँगीको भनाई छ ।
उर्लाबारी नगरपालिकाको कृषि शाखाका प्रमुख अम्बिकाप्रसाद लुइटेलले भन्नुभयो – किसान धेरै जान्ने भएकोले ठूलो समस्या आउने निश्चित छ । रञ्जित,सर्ना र वीवी ११ जातका धानले जमीनको धेरै तलसम्म पुगेर पोषण लिन्छन् । त्यसैले अलि बढी उत्पादन लिन्छन् । तर, यि बीउ लगाइरहने हो भने धान पछि लगाइने बालीमा दोब्बर मलको आवश्यकता पर्दै जान्छ । उहाँले उर्लाबारी क्षेत्रमा पनि अनुदानको बीउ गोदाम मै रहेको र रञ्जित लगायतका बीउ भारतबाट ल्याएर किसानले ब्याड राखेको जानकारी दिनुभयो ।
नेपाली बीउ गोदाममा सड्ने र भारतीय बीउले बजार पाउने तिथिलाई अन्त्य नगर्ने हो भने एकातिर बीउको परनिर्भता बढ्दै जानेछ भने अर्को तर्फ कालान्तरमा नेपाली रैथाने बीउहरू मासिने निश्चित छ ।



Share via
Send this to a friend