रङ्गेली । भारतसँग सीमा जोडिएका दक्षिणी मोरङका सिमावर्ती गाउँबाट ब्रोइलर कुखुरा भित्रिएपछि नेपाली किसान मारमा परेका छन् ।
नेपालसँग सिमा जोडिएका भारर बिहारका चोप्राहा,धनपट्टि,आमगाछी,सिक्टी,नोचा, सोनापुर,मायागञ्जबाट दैनिक भारतीय ब्रोइलर कुखुरा भित्रिने गरेको नेपाली किसानको भनाइ छ । नेपालमा भन्दा भारतमा ब्रोइलर कुखुरा सस्तो मूल्यमा पाइन्छ । एकातिर भारतमा कुखुरापालक किसानलाई अनुदानको ब्यवस्था गरिएको हुन्छ । अर्को तर्फ नेपालमा भन्दा भारतमा लागत खर्च कम हुने गर्छ । पुर्वाधार निर्माण देखि चल्ला,चारो र अन्य सामग्री भारतमा आधा सस्तो पाइने भएकोले उत्पादन मूल्य भारतमा सस्तो पर्ने किसानको बुझाई छ ।
नेपालका कुखुरापालक किसानका अनुसार नेपाल भारत सिमा खुल्ला छ । सिमा चौकीमा ससस्त्र प्रहरी र नेपाल प्रहरीले चेक चाँज गरेपनि भारतीय क्यारियरले नोपल तर्फ कुखुरा ल्याउने गरेको किसान बताउँछन् । रङ्गेली २ का कुखुरापालक किसान हरिप्रसाद भण्डारीले भन्नुभयो ‘ब्रोइलर कुखुरा भारतीय बजारमा सस्तो मुल्यमा खरिद गरेर नेपालमा बिक्री भइरहेको छ।मासु बिक्री गर्ने ब्यापारीहरू नेपाली उत्पादन खरिद गर्नै चाहँदैनन् ।उहाँले भारतबाट अवैध आयात नरोकिए नेपाली ब्यावसायि विस्थापित हुने बताउनु भयो ।
अर्का किसान रमेश कार्कीले भारतीय कुखुराको अवैध आयातले नेपाली ब्यावसायिको उत्पादनले बजार नपाएको बताउनुभयो ।भारतबाट प्रतिकेजी १६० रुपियाँमा कुखुरा आउँछ । नेपालको प्रतिकेजी २७० रुपियाँ सम्ममा बिक्री मूल्य परेको हुन्छ ।किलोमा एक सय रुपियाँ भन्दा बढी नाफा बस्ने भएपछि मासु बेच्नेहरू भारतीय कुखुरा नै खोज्छन् । नेपालमा रोजगार नपाएर युवाहरू विदेश गइरहेका छन् ।नेपाल मै कृषि तथा पशुपंक्षी पालन गरौं भनेर बसेका युवा आफ्नो उत्पादनले बजार नपाउँदा निरास छन् । कुखुरापालक किसान लक्ष्मण श्रेष्ठले भन्नुभयो – नेपालमा गरिखाने वातावरण नै छैन ।भारतसँग प्रतिस्पर्धा गर्न नेपाली किसानले सक्दैनन् । नेपालमा भन्दा भारतमा सबैथोक सस्तो छ ।त्यसैले कुखुरा पनि सस्तोमा पाइन्छ । अर्का किसान भविन थापाले भन्नुभयो– सिमाक्षेत्रबाट दैनिकी हजार देखि ३ हजार किलोसम्म भारतीय कुखुरा नेपाली बजारमा भित्रिने गरेको छ। स्थानीय बजारको माग भारतीय कुखुराले पुरा गरिदिएपछि नेपाली किसानले किन कुखुरा पालिरहनु ?उहाँले प्रश्न गर्नुभयो ।
मोरङ जिल्लाको ४६ किलोमिटर भुभाग भारतसँग जोडिएको छ । यो क्षेत्रमा ससस्त्र र नेपाल प्रहरीको बाक्लो तैनाथी रहेको छ । यति हुँदाहुदै पनि कुखुरा आयात नरोकिएपछि किसानले रङ्गेली नगरपालिको न्यायिक समितिमा उजुरी दिएका थिए ।
शुक्रबार नगरपालिकामा स्थानीय सरोकारवाला, मासु ब्यापारी, किसान, जनप्रतिनिधि र सुरक्षाकर्मी बिच सिमा क्षेत्रबाट अवैध आयात रोक्ने विषयमा छलफल भएको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटीले बताउनु भयो ।






