लेटाङ । मोरङको लेटाङ –२ पैतिसबिघेमा निर्माणधीन स्वचालित बिद्युत सबस्टेसन निर्माणमा ढिलाई भएको छ । सव स्टेसन बनेपछि उत्तरी मोरङमा भोल्टेज नपुगको समस्या स्थायी रुपमा समाधान हुने आस गरिएको थियो । तर, २०८१ सालको मङ्सिरमा निर्माण सम्पन्न हुने यो आयोजनाको हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।
नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेश प्रादेशिक कार्यालय,बिराटनगरका प्रमुख राजीवकुमार सिंहका अनुसार यो सवस्टेसन ६÷८ एमभीए क्षमताको हुनेछ । उहाँका अनुसार ८ करोड ३९ लाख ४३ हजार १०४ रुपियाँमा जय दुर्गे निर्माण सेवाले सवस्टेसन निर्माणको काम गरिरहेको छ । यसका अतिरिक्त ट्रान्समिसन लाइनको काम पनि भइरहेको छ । उक्त काम सोहन कन्ट्रक्सनले गरिरहेको छ । दुबै आयोजनाको कुल लागत झण्डै १७ करोड रुपियाँ हो । २०८० माघ ६ गते काम सुरु गर्दा दुबै काम निर्माण कम्पनीले २०८१ मङ्सिरमा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । तर निर्धारित समय काम नसकिएपछि २०८२ को कात्तिक ६ गते सम्मका लागि म्याद थप भएको छ ।
केरौन चौकबाट लेटाङको सब स्टेसन निर्माण हुने स्थान सम्मको १८ किलोमिटर क्षेत्रमा ६÷८ एमभीए विद्युत प्रशारण गर्ने पोल गाड्ने काम सकिएको छ । तार समेत टाँगिसकेको भएपनि हावा हुरीले विभिन्न स्थानमा पोल ढलाएर तार भुईमा लत्रिरहेका छन् । कार्यालय प्रमुख सिंहले भन्नुभयो –हालसम्म सबस्टेसन चालु भएको छैन् । चालु हुनु अघि सबै मर्मत हुन्छ । निर्माण कम्पनीले काम सम्पन्न गरेर प्राधिकरणलाई हस्तान्तरण गरेपछि मात्र मर्मतको दायित्व प्राधिकरणमा आउँछ । निर्माणधीन अवस्थाको जिम्मा प्राधिकरणले नलिने उहाँको भनाई छ ।
निर्माण कम्पनी जय दुर्गे निर्माण सेवाका साइट ईन्चार्ज इन्जिनीयर ईश्वरबहादुर भण्डारीले नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर ल्याइदिना साथ कम्पनीले जडान गर्ने बताउनु भयो । उहाँले नेपाल मै पहिलो मानव रहित सव स्टेसन भएकोले कतिपय प्राविधिक विषयका विज्ञहरू भारतबाट ल्याउनु परेकोले समयमा काम सम्पन्न गर्न नसकिएको बताउनु भयो ।
यता,लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले उत्तरी मोरङमा विद्युतको भोल्टेज कम हुने समस्या अन्त्य गर्न यो आयोजना छिट्टै बनिसक्नु पर्ने बताउनु भयो ।






