हरिप्रसाद कोइराला
केराबारी । राज्य पुनर्संरचनापछि पाँच गाविस जोडेर केरावारी गाउँपालिका बनेपनि मोरङको केराबारी –२ का बासिन्दाको सास्ती भने फेरिएको छैन ।
गाविस छँदा गाउँमै जेष्ठ नागरिक भत्ता पाउने बुढापाकाहरू हाल तीन तीन महिनामा भत्ता लिन केराबारी झर्नुपर्छ । गाविस थियो । गाउँपालिका बन्यो । तर, सडक सञ्जाल बिस्तार भएन । गाउँसम्म बैंक पुगेन । केराबारी –२ को सिंहदेवीबाट जेष्ठ नागरिक भत्ता लिन केराबारी झर्नु भएकी दुर्गाकुमारी शाहीले भन्नुभयो –‘पहिले गाविसमा नै दिन्थे । अहिले बैंक पुग्नुपर्छ । गाउँमा बैंक गएन । ८१ वर्षीय दुर्गाकुमारीले अहिले दुख सुख गाडी चल्दै छन् । भदौ तिर ५२ किलोमिटर घुमेर केराबारी पुग्नुपर्ने पीडा सुनाउनु भयो ।
उहाँ मात्र होइन । केराबारी २ का जेष्ठ नागरिक,एकल महिला,दलित लगायत सबैको नियति उही हो । हिउँदमा दुखले गाडी गुड्छ । वर्षायाम सुरु भएपछि ठाउँ ठाउँमा पहिरो झर्छ । सडक अवरुद्ध हुन्छ । त्यसैले असार–भदौसम्म ५२ किलोमिटर घुम्नुको विकल्प छैन् । केराबारी देखि सिंहदेवी, समेवा,बिहीबारे,लेटाङ,पाटीगाउँ जाने सार्वजनिक यातायातका गाडी छैनन् । रातो प्लेटका नीजि सवारी साधनमा अत्यन्तै कष्टकर यात्रा गर्नुपर्ने स्थानीयको भनाई छ । ७४ वर्षीय जयबहादुर राईले भन्नुभयो–‘ म त गाडी चलेन भने पैदल नै आउजाउ गर्छु । उहाँले उहिले उमेरमा सात÷आठ घण्टामा पार हुने बाटो अचेल पुरै एकदिन लाग्न थालेको सुनाउनु भयो ।
त्यसो त सरकारले सिंहदेवी पुग्ने सडक बनाउने प्रयास नगरेको भने होइन । तर, ६ वर्षअघि निर्माण सुरु भएको खोर्साने–केराबारी–सिंहदेवी सडक अलपत्र छ । सङ्घीय सरकारको शहरी विकास मन्त्रालय अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले २०७६ साल साउन २० गते ठेक्का लगाएको सडक निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले आधाउधी काम गरेर छोडेपछि अलपत्र भएको हो ।
सम्झौता अनुसार २५ किलोमिटर लम्बाईको यो सडक २०७६ साल भदौ १० गते काम सुरु गरेर २०७८ भदौ ८ गते काम सम्पन्न गर्नुपर्ने थियो । ७० करोड ४९ लाख २९ हजार ३५५ रुपियाँ ६२ पैसामा ठेक्का लागेको सडक पटक पटक गरी ६ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०८० असार ३० गते काम सक्ने सहमति भएको थियो । पछिल्लो म्यादमा पनि काम सम्पन्न नभएपछि शहरी विकास मन्त्रालयले २०८१ चैत १४ गते ठेक्का सम्झौता खारेज गरेको छ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई दमक झापाका आयोजना प्रमुख शालिकराम देबकोटाका अनुसार यो सडक र मोरङ कै लक्ष्मीमार्ग –डाँगीहाट–बनौल– बवियाविर्ता हुँदै अमाहीबरियाति जोड्ने सडक संयुक्त रुपमा ठेक्का लागेको हो । पुर्वपश्चिम राजमार्गको बेलबारी १० भाउन्नेबाट दक्षिण तर्फ जाने तराईको यो सडक र राजमार्ग कै सुन्दरहरैँचा ९ बाट उत्तर तर्फ जाने खोर्साने– केरावारी– सिंहदेवीको पहाडी सडक दुबै हाल अलपत्र छन् । आयोजना प्रमुख देवकोटाले भन्नुभयो – दुबै सडक संयुक्त रुपमा ठेक्का आह्वान भएकोले ‘एउटा सडकको मात्र भौतिक तथा वित्तीय प्रगति देखिन्न । ठेक्का सम्झौता खारेज हुनु अघिसम्म ५५ प्रतिशत भौतिक र ४४ दशमलव ३७ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । आयोजनाले निर्माण कम्पनीलाई ३५ करोड १६ लाख २२ हजार ६१४ रुपियाँ २९ पैसा भुक्तान गरिसकेको छ ।
खोर्साने– केरावारी– सिंहदेवी सडकमा १६ किलोमिटर सडक पुरै पहाडी क्षेत्रमा पर्छ ।केरावारी २ का वडाध्यक्ष समेत रहनु भएका सडक उपभोक्ता प्रेमबहादुर लिम्बूले भन्नुभयो–‘मदन भण्डारी राजमार्गलाई चिरेर जाने यो सडक भेडेटार–राँके –रवि सडकलाई जोड्ने रणनीतिक महत्वको सडक हो । ताप्लेजुङका मानिसहरू इलाम झापा नझरिकन एकै पटक केरावारी झरेर विराटचौक हुँदै विराटनगर पुग्न सक्ने थिए । प्रदेशको राजधानीसँग छोेटो सडकले ताप्लेजुङ र पाँचथरका बासिन्दालाई जोड्ने यो सडकले समय र खर्च मात्र बचत गर्दैन । वडाध्यक्ष लिम्बुका अनुसार केराबारी उत्तर १३ दशमलव ६१५ किलोमिटर मात्र काम भएको छ । रामपुर देखि समेवासम्म स्तरोन्नतिको काम भएको छैन् ।
उत्तरी मोरङको साविक सिंहदेवी गाविसमा पर्ने जेफाले पर्यटन विकास केन्द्रले जेफालेमा होमस्टे सञ्चालन गरेको छ । मोरङ कै सबैभन्दा ठूलो चिया बगान रहेको जेफालेमा भ्युटावर,मगर संस्कृतिका घरबास केन्द्र, सुन्तोला बगान, भुईस्याउ र अलैची ब्यावसायिक खेती हुन थालेकोे छ । हिउँदमा साना गाडी र मोटरसाइकलहरू छोटो बाटो भन्दै अत्यन्तै जोखिम मोलेर जेफाले जाने गर्छन भने वर्षायाममा ५२ किमी घुम्नुको विकल्प छैन ।






