Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

 

कानेपोखरी । मोरङको कानेपोखरी –६ रमाइलोका टङ्कनाथ फुयलले उद्यमी बन्ने सपना बोकेर २० हजार रुपियाँबाट सुरु गरेको उद्योग एक दशक मै ६० लाख रुपियाँको भएको छ ।
११ वर्षअघि फुयल एक्लै हुनुहुन्थ्यो । न ठूलो लगानी थियो । न आधुनिक मेसिन । साथमा थियो, केवल २० हजार र उद्यमी बन्ने विशाल सपना ।
भोजपुरको सिग्देलकोट गाउँबाट २०५७ सालमा मोरङको रमाइलो झर्नुभएका ४१ वर्षीय फुयलले २०७२ सालमा ब्लक उद्योग सुरु गर्नुभयो । ऋण गरेको २० हजार रुपियाँले एक गाडी बालुवा, एक गाडी गिट्टी र केही बोरा सिमेन्ट किन्नुभयो ।स्थानीय रामकृष्ण दाहाललाई काठको फ्रेम बनाउन लगाएर उहाँले त्यही फ्रेमबाट ब्लक उत्पादन सुरु गर्नुभयो । सुरुमा एक्लै काम गर्थें, उहाँले भन्नुभयो, – ब्लक सँगै शौचालयका रिङ बनाएँ । केही रिङ र ब्लक बनाउँदा पैसा सकियो । सपना जे देखेको थियो ठकि उल्टो भयो । आठ महिनासम्म एउटा ग्राहक पनि सामानको मुल्य सोध्न आएनन् । ब्यापार हुने कुरै भएन । ऋण गरेर ल्याएको पैसाको ब्याज तिर्ने बेला आयो । आम्दानी थिएन । थप ऋण काढेर ब्याज तिरें ।’
उद्योग राखेको ठाउँको भाडा, आफ्नो मेहनत र समय सबै खेर गए जस्तो भयो । त्यो बेला गाउँघरका धेरैले उहाँलाई विदेश जान सुझाव दिए । आफन्त मात्र होइन, इष्टमित्र र शुभेच्छुकले पनि यस्तो ब्यापार नहुने पेशा रुघेँर बस्नु भन्दा विदेश जानु भनेर दबाब दिनुभयो । तर, उहाँ विदेशको पीडा भोगेर फर्किनुभएको थियो । मलेसियामा २७ महिना सुरक्षा गार्डको काम गरेर फर्कदा नै उहाँले अब बिदेश जान्न भन्ने सङ्कल्प गर्नु भएको थियो । विदेशको दुखले उहाँलाई एउटा कुरा सिकाएको थियो—आफ्नै ठाउँमा दुःख गरे कम्तीमा सपना आफ्नै हुन्छ ।त्यसपछि उहाँले हार मान्नुभएन । घरेलु उद्योगमा फर्म दर्ता गर्नुभयो । विस्तारै काठको फ्रेम हटाएर आधुनिक फ्रेमबाट ब्लक बनाउन थाल्नुभयो । समयसँगै ग्राहक थपिँदै गए ।
अहिले उद्योगमा ११ जना कामदार छन् । दुई वटा आफ्नै ट्याक्टरले बालुवा ,गिट्टी ल्याउनु हुन्छ । ब्लक निर्माण गर्ने आधुनिक मेसिन,फलैँचा बनाउने फ्रेम लगायत धेरै उपकरण जोडिसक्नु भएको छ । उहाँ हाल चार कट्ठा जग्गामा ब्लक मात्र होइन । फलैंचा, गमला, रेलिङ, तुलसीका मोठ रोप्ने गमला लगायत सिमेन्ट, बालुवा र गिट्टीबाट निर्माण हुने धेरै प्रकारका घरायसी सामग्री निर्माण गरिरहेको छ । उद्योगमा करिव ६० लाख रुपियाँ लगानी भइसकेको छ । फुयलले एउटा कार र दश धुर जग्गा पनि जोडिसक्नु भएको छ । अहिले माग अनुसार सामान दिन भ्याइँदैन, उहाँले मुस्कुराउँदै भन्नुभयो ।
मासिक करिब तीन लाख रुपियाँको कारोबार हुने उद्योगबाट खर्च कटाएर ४०÷५० रुपियाँ बचत हुन्छ । यही व्यवसायले बुबा–आमासहित छ जनाको परिवार धानेको छ ।
तर, संघर्ष भने अझै सकिएको छैन । फुलय कामदारसँगै काम गर्नु हुन्छ । उद्योगमा पुग्नेले साहु र कामदार छुट्याउन सक्दैनन । उहाँ भन्नुहुन्छ – जहाँबाट उठेको हुँ । त्यो धरातल छोड्दिन । सादगी जीवन नै मेरो परिचय हो । उहाँले थप्नुभयो –‘बजारमा अहिले पनि १५ लाख रुपियाँ उठ्न बाँकी छ । त्यो नै मेरो पसिनाको मुल्य हो । बाँकी नदिउँ भने आफन्त र साथीभाइको मुख बिग्रिन्छ, बाँकी दिउँ भने उठाउन गाह्रो हुन्छ । उहाँले न्यून मध्यम परिवारका मानिसलाई उद्यम गर्न निक्कै कठिन हुने अनुभव सुनाउनु भयो ।



Share via
Send this to a friend