विराटनगर । देशकै प्रमुख शिक्षण अस्पतालहरुमध्ये एक विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षासम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदान घोषणा गरेको छ ।
नोबेलका सञ्चालक डा. सुनिल कुमार शर्मा र उहाँकी धर्मपत्नी इन्दिरा शर्मा बरालले २०८२ कार्तिक २६ गते एक विशेष समारोहका बीच अनुसन्धान इकाईको संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा नोबेलका बोर्ड सल्लाहकार सोइना शर्मा, विभिन्न विभागका प्रमुख, फ्याकल्टी सदस्यहरू, अनुसन्धान इकाईका पदाधिकारी तथा कर्मचारीहरू उपस्थित हुनुहुन्थ्यो ।
अनुसन्धान इकाईका प्रमुख प्रा. डा. गेहनाथ बरालले नोबेल मेडिकल कलेजले स्वास्थ्य उपचारको क्षेत्रमा उल्लेखनीय उचाइ हासिल गरिसकेको र अब चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई सशक्त रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले अनुसन्धान इकाईको स्थापना र अनुदानको व्यवस्था डा. शर्मा तथा शर्मा परिवारको अभिभावकत्वमा भएको भन्दै आभार व्यक्त गर्नुभयो ।
त्यसैगरी, नोबेलका अन्तर्राष्ट्रिय निर्देशक डा. निरञ्जन कुमारले विश्वमा स्वास्थ्य तथा चिकित्सा क्षेत्रका अधिकांश प्रगतिहरू अनुसन्धानकै फलस्वरूप सम्भव भएको बताउँदै, नोबेलमै पनि अनुसन्धानलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नोबेलका प्रमुख कार्यकारी अधिकारी प्रा. डा. रामहरी घिमिरेले अनुसन्धान तथ्यपरक र यथार्थपरक हुनुपर्नेमा जोड दिँदै, यस्ता अनुसन्धानहरूले चिकित्सा स्वास्थ्यको क्षेत्रमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
प्राचार्य प्रा. डा. राजेश नेपालले आफ्ना मन्तव्यका क्रममा वार्षिक १० लाख रुपैयाँको अनुसन्धान अनुदानको घोषणा गर्नुभयो । उहाँका अनुसार नोबेलमा कार्यरत फ्याकल्टी, चिकित्सक, स्वास्थ्यकर्मी र विद्यार्थीहरूको तीन टोलीका साथै, नोबेल बाहिरका तीन टोली गरी वार्षिक ६ वटा राष्ट्रिय अनुसन्धान र २ वटा अन्तर्राष्ट्रिय अनुसन्धानलाई अनुदान प्रदान गरिनेछ । अनुदान प्राप्त गर्नका लागि नोबेलको अनुसन्धान इकाईले तोकेको कार्यविधिअनुसार प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कार्यक्रमको समापन गर्दै प्रा. डा. विश्वनाथ अधिकारीले अनुसन्धान इकाईको सफल कार्यसम्पादन र अनुदान कार्यक्रमको स्थायित्वका लागि शुभकामना व्यक्त गर्नुभयो ।
श्रोतका अनुसार, संस्था भित्र र बाहिरका साथै अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुलाई समेत लक्षित गरी प्रदान गर्न लागिएको यस प्रकारको अनुसन्धान अनुदान कार्यक्रम नेपालका निजी मेडिकल कलेजहरू मध्ये पहिलो हो ।
डा. सुनिल शर्मा नेतृत्वको नोबेल मेडिकल कलेजले यसअघि पनि देशका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, विपन्न बिरामीहरूको निःशुल्क उपचार, र आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई पारामेडिकल, एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ र बीएनएस लगायतका विषयहरूमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । उहाँले नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज दुवै संस्थामा विशेषज्ञ तथा विशिष्ट स्वास्थ्य सेवाहरू निरन्तर थप गर्दै, स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।






