बेलबारी। जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङको ३२औं वार्षिक साधारणसभा शनिबार बेलबारी–३ स्थित संघको सभाहलमा सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन गर्दै नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेतृत्वमा देखिएको होडबाजीका कारण सहकारी अभियान नै अप्ठ्यारोमा परेको बताउनुभयो। उहाँले भन्नुभयो, “हिजो हामीले छुट्टै बचत ऐन माग्यौँ। अहिले सरकारले बचत–ऋण कारोबार गर्ने सहकारीका लागि छुट्टै मापदण्ड ल्यायो। ती मापदण्डमा केही त्रुटि छन्, तर कर्जा सूचना केन्द्र, असुली न्यायाधिकरणजस्ता अत्यावश्यक विषय समेटिएको छ। प्रारम्भिक संस्थालाई अप्ठ्यारो परे अझै पनि ‘लविङ’ गर्न सकिन्छ। तर कसैको पद जोगाउन वा सधैं पदमा रहिरहने उद्देश्यले ऐन–मापदण्ड परिमार्जन गर्नुपर्छ भन्नेमा म सहमत छैन।”
अध्यक्ष ढकालले प्रारम्भिक संस्था वा सङ्घ के मा नेतृत्व गर्ने हो भन्ने कुरा स्पष्ट हुनुपर्ने बताउँदै सबै ठाउँमा आफू नै हुँदा मात्रै ठीक हुन्छ भन्ने सोच त्याग्न नेतृत्व तहले सकेको खण्डमा मात्र अभियान सुदृढ हुने उल्लेख गर्नुभयो।
प्रदेश सहकारी सङ्घ कोशीका अध्यक्ष डा. डिल्ली पोखरेलले विभिन्न समयमा सरकारले ल्याएका कानुन, मापदण्ड र निर्देशनले सहकारी अभियान चुनौतीमा परेको बताउनुभयो।
नेफ्स्कुनका पूर्व सञ्चालक तथा संघका सल्लाहकार गोमा नेपालले महिला शेयर सदस्यको अनुपातअनुसार सञ्चालक संख्याको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो।
साधारणसभाको अवसरमा यस वर्षको ‘सहकारी व्यक्तित्व सम्मान’ संघका सल्लाहकार एवम् नेफ्स्कुनका पूर्व सञ्चालक गोमा नेपाललाई प्रदान गरिएको छ। प्रमुख अतिथि ढकाल र संघका अध्यक्ष प्रेमप्रकाश कोइरालाले उहाँलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो। गोमा नेपाल उर्लाबारी–७ स्थित नारी सङ्कल्प बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पनि हुनुहुन्छ।
त्यस्तै, ‘पूर्व सञ्चालक सम्मान’बाट गङ्गाकुमार यादव र इच्छा कोइराला सम्मानित हुनुभयो। यादव हाल केरौन साकोसका अध्यक्ष हुनुहुन्छ भने कोइराला तत्कालीन जनएकता साकोसका कोषाध्यक्ष हुनुहुन्थ्यो। दुवैले दुई–दुई कार्यकाल सञ्चालक भई संघमा उल्लेखनीय योगदान गर्नुभएको थियो।
कर्मचारीतर्फ ‘उत्कृष्ट कर्मचारी पुरस्कार’ दौतरी बलिया साकोस सुन्दरहरैंचाका व्यवस्थापक लोकेन्द्र काफ्ले र जनमुखी साकोस कानेपोखरीकी ऋण सहायक दुर्गाकुमारी पौडेललाई प्रदान गरिएको छ।
हरेक वर्ष दुई सहकारी संस्थालाई प्रदान गरिँदै आएको संस्थागत पुरस्कार यस वर्ष बेलबारीको बेतना साकोस र उर्लाबारीको महिला उत्थान साकोसलाई दिइएको छ।
सभापति प्रेमप्रकाश कोइरालाको अध्यक्षतामा सम्पन्न साधारणसभामा सचिव जीवन बस्नेतद्वारा प्रस्तुत प्रगति प्रतिवेदन, कोषाध्यक्ष डिबी बस्नेतद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक बीना राईद्वारा प्रस्तुत प्रतिवेदन तथा लेखापरीक्षक राजेन्द्र सुवेदीले प्रस्तुत गर्नुभएको बाह्य लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिपूर्वक पारित गरिएको थियो।
साधारणसभामा नेफ्स्कुनका सञ्चालक लक्ष्मी सापकोटा, प्रदेश बचत संघका अध्यक्ष हरिप्रसाद सुवेदी, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गौतम, सहकारी सञ्जाल बेलबारीका अध्यक्ष दुर्गाप्रसाद गौतम तथा सल्लाहकारहरूको उपस्थिति थियो।
यसै अवसरमा संघले आइपीडिएस कार्यक्रम र बचत समाचार अनलाइन न्युज पोर्टलको शुभारम्भ पनि गरेको छ।
२०५१ बैशाख २० गते स्थापना भएको जिल्ला बचत संघमा हाल १ करोड ४९ लाख १३ हजार ५ सय रुपैयाँ शेयर पूँजी रहेको छ। कोष हिसाबमा २४ लाख ८८ हजार ३५९ रुपैयाँ ४६ पैसा, लगानी हिसाबमा ७ लाख ५ हजार ७० रुपैयाँ ५९ पैसा, र स्थिर सम्पत्तिमा ३४ लाख ४२ हजार ४५१ रुपैयाँ १५ पैसा छ।
यस्तै, जगेडा कोषमा ६५ लाख ४५ हजार २०५ रुपैयाँ ९६ पैसा, बचत निक्षेपमा १४ करोड २९ लाख ५३ हजार ४५९ रुपैयाँ ०७ पैसा, र ऋण लगानीमा १ करोड ९० लाख ९० हजार २७७ रुपैयाँ ८० पैसा रहेको छ।
संघको कुल सम्पत्ति १७ करोड २४ लाख ९९ हजार २४५ रुपैयाँ रहेको छ।






