Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले प्रत्येक वर्षझैँ यस वर्ष पनि मङ्सिर २ गते “नोबेल डे” विविध कार्यक्रमकासाथ भव्यतापूर्वक मनाएको छ । नोबेल शिक्षण अस्पताल तथा मेडिकल कलेजका अभिभावक डा. सुनिलकुमार शर्मा र उहाँकी श्रीमती इन्दिरा बराल शर्मा, बोर्ड अफ एडभाइजर सोइना शर्मा, काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले, डीन प्रा.डा. मनोज हुमागाईं, एसोसिएट डीन प्रा.डा. दीपक कुँवर, बिराटनगर महानगरपालिका प्रमुख श्री नागेश कोइराला, वडा नं. ४ का अध्यक्षलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमलाई झनै गरिमामय बनाएको थियो ।

कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. रामहरि घिमिरे, कार्यकारी सल्लाहकार डा. भोगेन्द्र प्रसाद उपाध्याय, प्राचार्य प्रा.डा. राजेश नेपाल तथा विभिन्न विभागका पदाधिकारीहरू पनि सहभागी भएका थिए । संस्थाले स्थापना कालदेखि प्रत्येक वर्ष नोबेल डे मनाउँदै आएको छ, जसले संस्थागत उपलब्धि, शैक्षिक प्रगति तथा स्वास्थ्य सेवामा गरिएको योगदानलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दछ ।

उक्त अवसरमा कर्मचारी तथा विद्यार्थीहरूले रंगीन र विविधतामय सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो । सभापति डा. सुनिलकुमार शर्मा तथा उपस्थित अतिथिहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट सेवा, समर्पण र कर्मनिष्ठालाई प्रेरित गर्ने उद्देश्यले प्रदान गरिएका सम्मानहरूले सहभागीहरूमा थप उत्साह जगाएको देखिन्थ्यो ।

कार्यक्रमकै अवसरमा नोबेल मेडिकल कलेजका छात्रछात्राले तयार पारेको पहिलो Students’ Journal को लोकार्पण पनि गरिएको थियो । यस जर्नलले विद्यार्थीहरूलाई अनुसन्धान, लेखन तथा शैक्षिक अभिव्यक्तिको प्लेटफर्म प्रदान गर्ने विश्वास व्यक्त गरिएको थियो । यस वर्षको नोबेल डे कार्यक्रम उपस्थित सबैका लागि स्मरणीय र प्रेरणादायी बनेको थियो ।



Share via
Send this to a friend