मोरङ÷नेपाली कांग्रेसका नेता तथा मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्रमा सम्पन्न विकास निर्माणका कामहरू नै आफ्नो मुख्य चुनावी एजेण्डा रहेको बताउनु भएको छ ।
उहाँले पाँच वर्षका लागि निर्वाृचित भएर गएको सांसदले तीन वर्ष काम नगर्दै अर्को चुनावको सामना गर्नु परेपछि अघिल्लो निर्वाचनमा गरिएका प्रतिवद्धता पनि पुरा गर्न नसकेको बताउनु भयो । शर्माले आफूले पुराना प्रतिवद्धता ७० प्रतिशत पुरा गरेको दाबी गर्नुभयो ।
पथरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले ‘कांग्रेस कम बोल्छ, बढी काम गर्छ’ भन्ने स्वर्गीय गिरिजाप्रसाद कोइरालाको मान्यतालाई आफूले व्यवहारमा उतारेको दाबी गर्नुभयो । डा. शर्माले पथरीमा निर्माण सम्पन्न ३५ करोड रुपैयाँको खानेपानी ट्यांकी र तीन दशकदेखि अलपत्र अवस्थामा रहेको पथरी–डायनिया–सिक्टी व्यापारिक मार्गको निर्माण कार्यलाई आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो ।
उहाँले विगत ३५ वर्षदेखि सुकुम्बासीहरूले भोग्दै आएको धनीपुर्जा सम्बन्धी समस्या समाधानका लागि आफूले ठोस पहल गरेको पनि उल्लेख गर्नुभयो । पाँचसय बढीले निस्सा पाइसक्नु भएको छ । जेनजी बिद्रोहले धनीपूर्जा वितरणलाई अबरोध ग¥यो । उहाँले जब काम तीब्र गतिमा अघि बढ्छ , अनि देशमा सरकार परिवर्तन हुन्छ । स्थायी सरकार बनाउन काग्रेसलाई बहुमत दिन शर्माले आग्रह गर्नुभयो ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले २५ वर्षदेखि रोकिएको पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको मेडिकल कलेज सञ्चालनको निर्णय गराउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँका अनुसार आगामी दुई हप्ताभित्र एमबीबीएस अध्ययनका लागि विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ भने पाँच वर्षभित्र ५०० शैय्याको अत्याधुनिक शिक्षण अस्पताल निर्माण गरिनेछ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिँदै उहाँले २०७९ सालको निर्वाचनमा जस्तै अपार माया र आशीर्वादको अपेक्षा गर्नुभयो ।
डाक्टर शर्मा प्रतिनिधि सभाको सदस्य भएर पनि सांसद भत्ता नलिने एक मात्र सांसद हुनुहुन्छ ।

























