कानेपोखरी, ३ मङ्सिर । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नामले स्वस्थ्य पानी आधारभूत आवश्यकता भएकोले गाउँपालिकाले आवश्यकता हेरेर बजेट तर्जुमा गरिरहेको बताउनु भएको छ ।
शनिवार कानेपोखरी–७ स्थित बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सातौं वार्षिक साधारणसभामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । पालिका भित्र अरु ३ वटा खानेपानी आयोजनाहरू निर्माणको चरणमा रहेको बताउँदै अध्यक्ष इङ्नामले भन्नुभयो –‘पालिकाका सबै नागरिकलाई स्वच्छ पानी वितरण गर्नु हाम्रो कर्तब्य हो । हामी समानुपातिक ढङ्गले सबैलाई पानी उपयोग पाउने गरी बजेटको ब्यवस्थापन गर्न तयार छौं । ’ उहाँले सञ्चालनमा रहेका आयोजनालाई र निर्माणधीनलाई एउटै मापदण्डमा बजेट ब्यवस्थापन गर्न कठिन हुने बताउनु भयो । पालिकाको वडा नं.१ बेग्लै टापु जस्तै भएर रहेको छ । त्यस क्षेत्रमा पनि शुद्ध पानी वितरणका लागि पालिकाको ध्यानाकर्षण भएको उहाँको भनाई थियो ।
कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले दैवीप्रकोपका कारण अहिले केही समस्या रहेपनि बयरवन खानेपानीमा खासै समस्या नरहेको बताउनु भयो । उहाँले हस्तान्तरण प्रक्रिया पुरा गरेर असोज भित्रै साधारणसभा गर्न समितिलाई सुझाव दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पौडेलको सभापतित्वमा भएको साधारणसभामा कानेपोखरी–६ का वडाध्यक्ष खड्गबहादुर बस्नेत,कानेपोखरी खानेपानी तथा सरसफाई उपभोेक्ता समितिका कोषाध्यक्ष खगेश्वर खतिवडा र संस्थाका उपाध्यक्ष विजयगोपाल गड्तौलाले बोल्नु भएको थियो ।
२०५७ सालमा स्थापना भएको बयरवन खानेपानीमा १ हजार ६३२ उपभोक्ता रहेका छन् । जसमध्ये १ हजार ३६७ उपभोक्ताले धारा जोडेका छन् । कानेपोखरी गाउँपालिकाका वडा नं.७, ६ र ४ मा साडे ६ किलोमिटर पाइप लाइन बिस्तार गरेको खानेपानी उपभोक्ता समितिले आगामी आर्थिक वर्ष थप ५ सय मिटर पाइप बिस्तार गर्ने कार्ययोजना बनाएको छ । समितिका कोषाध्यक्ष भोलानाथ पराजुलीले आव २०७९/०८० मा १ करोड ७४ लाख ६८ हजार ९४५ रुपैयाँको प्रस्तावित आय–ब्ययको अनुमान गरेकोमा १ करोड ४५ लाख १८ हजार ४७३ रुपैयाँ यथार्थ आय –ब्यय प्रस्तुत गर्नुभयो । आव २०८०/०८१ का लागि संस्थाले २ करोड ७४ लाख ९१ हजार २५२ रुपैयाँको प्रस्तावित बजेट साधारणसभामा प्रस्तुत गरेको कोषाध्यक्ष पराजुलीले बताउनु भयो ।
गत आवमा संस्थाले ४३ लाख १० हजार ५२९ रुपैयाँ आम्दानी गरी ५१ लाख २३ हजार ४२६ रुपैयाँ खर्च गरेको छ । गत वर्षको मात्र आम्दानी र खर्च अनुसार संस्थालाई ८ लाख १२ हजार ८९६ रुपैयाँ सञ्चालन घाटा भएको छ ।
गत असार ३ गते राति आएको चट्याङले खानेपानीले सञ्चालन गरिरहेका विद्युतीय सामग्रीमा क्षति गरेको थियो । संस्थाका सचिव बद्रीप्रसाद भट्टराईका अनुसार चट्याङले ६० लाख रुपैयाँ बराबरका विद्युतीय उपकरणमा क्षति पुर्याएको थियो ।
कानेपोखरी–७ को जनकल्याण मावि परिसरमा भएको साधारणसभा संस्थाका सह सचिव केदार राईले सञ्चालन गर्नु भएको थियो ।






