Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

काठमाडौं– स्वास्थ्य बीमा नियमावली संशोधन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिमितलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न भन्दै नियमावलीको नियम २ ९६०  लाई संसोधन गरेको हो ।

यस अघिको नियमावलीमा बीमितले पहिलो पटक सेवा लिनका लागि रोजेको स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ भनी परिभाषित गरिएको थियो । संशोधित नियमावलीमा बीमितले प्रथम सेवा विन्दुको रुपमा स्वास्थ्य संस्था रोज्नुपर्ने व्यवस्थालाई हटाएर सरकारी स्वास्थ्य संस्थालाई ‘प्रथम सेवा विन्दु’ सम्झनु पर्नेछ ।

त्यस्तै, नियमावलीको नियम ६ को उपनियम २ पछि उपनियम २ (कं) थपिएको छ । जसमा बीमितलाई पुनः परिचयपत्र जारी नगरेसम्म परिचयपत्रको प्रतिलिपि, नागरिक एप वा स्वास्थ्य बीमा सूचना व्यवस्थापन प्रणालीबाट जारी हुने बीमित पहिचान भएको क्यूआर कोडलाई समेत सेवा प्रदायकको मान्यता दिनुपर्नेछ ।

यस्तै, नियमावलीको नियम ७ मा संशोधन गरिएको छ । संशोधित नियमावली अनुसार नियम ७ मा स्वास्थ्य सेवा लिनु पर्ने राखिएको छ । बीमितले प्रथम सेवा विन्दुबाट पहिलो स्वास्थ्य सेवा लिनुपर्ने भन्ने व्यवस्था गरिएको छ । त्यस्तै, प्रथम सेवा विन्दुले प्रेषित गरेको स्वास्थ्य सेवा प्रदायकबाट सेवा लिनुपर्नेछ ।

नियम ३ को उपनियम १ मा आकस्मिक अवस्थामा बीमतिले जुनसुकै सेवा प्रदायकबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ । यस अघि भने नियमावलीको नियम ७ मा सेवा प्रदायक रोज्नु पर्ने भन्ने व्यवस्था थियो । बीमितले सेवा प्रदायकहरुमध्ये कुन सेवा प्रदायकबाट उपचार सेवा लिने हो सो कुरा कार्यक्रममा आबद्ध हुँदाको बखतमा रोज्नुपर्ने भन्ने व्यवस्था रहेको थियो ।  आफूले रोजेको प्रथम सेवा विन्दुको रुपमा रहेको सेवा सेवा प्रदायकबाट स्वास्थ्य सेवा लिनुपर्नेछ । बीमितले आवश्यक सेवा प्राप्त गर्न नसकेमा त्यस्तो सेवा प्रदायकबाट निजलाई प्रदान गरिने प्रेषण पुर्जाको आधारमा प्रेषित गरिएको सेवा प्रदायकबाट मात्र सेवा लिनुपर्ने भन्ने व्यवस्था थियो । जसलाई सरकारले संशोधन गरेको छ ।

नियमावलीको नियम ८ मा उपनियम ३ थपिएको छ । जसमा बीमितले बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत समेत परिचयपत्र नवीकरणको लागि निवेदन दिन सक्नेछन् भन्ने उल्लेख गरिएको छ ।  त्यस्तै नियमावलीको नियम ९ मा रहेको ‘प्रथम सेवा विन्दु’ भन्ने शब्द हटाइएको छ भने नियमावलीको नियम १० पनि संशोधन गरिएको छ । संशोधित  नियम अनुसार बीमित जुन महिनामा बीमामा दर्ता भएको हो सो महिनालाई पहिलो महिना मानी सो प्रश्चातको तेस्रो महिनाको एक गतेदेखि बीमितको बीमा सेवा सुविधा लागू हुनेछ । त्यस्तै परिचयपत्र नवीकरण गरेको बीमितको सेवा सुविधा नवीकरण भएको मिति देखि लागू हुनेछ ।

यसअघिको व्यवस्था अनुसार वैशाख देखि असार महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको भदौ एक गतेदेखि सेवा सुविधा लिन पाउने व्यवस्था थियो । साउन देखि असोज महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको मंसिर एक गतेदेखि, कात्तिक देखि पुस महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको फागुन एक गतेदेखि र माघ देखि चैत महिनासम्म दर्ता वा नवीकरण भएकोमा अर्को वर्षको जेठ एक गतेदेखि सेवा सुविधा लिन पाउने व्यवस्था थियो ।



Share via
Send this to a friend