दीपेश रोक्का,
काठमाडौँ । नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न भएको छ ।
बुधबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको मुहूर्त सम्पन्न गरिएको हो । फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, बेलायती अभिनेता जेमी बेकम लगायत उपस्थित थिए ।
चलचित्रको शुभ मुहूर्त पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, चलचित्र अन्तराष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिनुभयो । अरु नेपाली चलचित्रमा भन्दा ‘एक्लो’ मा दर्शकले फरकपन पाउँने पनि निर्देशकको दावी रहेको छ ।
उहाँले भन्नुभयो ,– ‘म नेपाली चलचित्र भन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन रुचाउँछु किनकी विश्वभरी कै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो चलचित्र बन्दै छ । तपाईहरुको सहयोगको खाँचो छ ।’
भोलि बिहीबारबाट छायाङ्कन सुरु गर्ने तयारी सहित शुभमुहुर्त भएकोे चलचित्रले बुधबार फाइनल वर्कसप सक्दैछ । चलचित्रका निर्देशक शाहीले बेलायतबाट फर्किए लगतै यसको वर्कशप सुरु गर्नु भएको हो । अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो चलचित्रको टिम अहिले निर्माण टिम प्रि–प्रोडक्शनको तयारीमा लागि परेका छन् । शाही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रसँग निर्माणमा ह्रयाम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।
चलचित्रमा प्रदिप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन , बेनिशा हमाल्, दिनेश डि.शि, कबिता नेपालि, अवोन राज उप्रेति, सुरज सिङ ठकुरि, त्रुचु राई, कृष्ण भक्त महर्जन, बिकाश अधिकारी, दिग्गज खत्री , बिनोद कुमार सुबेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने छ ।
जेमी चलचित्र एक्लोको छायाङ्कनका लागि मङ्गलबार मात्र नेपाल आएका हुन । उक्त फिल्मका निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ , बिष्णु तामाङ, उत्सब बिष्ट, भाइराजा थापा, नबिन सिवा, बागबिर पुन हुन् भने कार्यकारी निर्माता बिनोद कुमार सुबेदी क्षितिज रहनु भएको छ । फिल्मको छायाङ्कनमा बाबु श्रेठ तथा चलचित्रको सेट डिजाइनरमा राजु पेन्टर, आर्ट डाइरेक्टरमा सन्तोष लामा रहनु भएको छ ।
चलचित्र ४५ दिनको समय तालिकामा भित्र काठमाडौं र मुस्ताङमा छायाङ्कन हुनेछ ।

























