कानेपोखरी /विद्यार्थी गुणीय चक्र (स्टुडेन्ड क्वालिटी सर्कल) एसक्युसीको मोरङ हवको तेस्रो संस्करण बिहीबार कानेपोखरी-७ बरगाछीमा सुरु भएको छ ।
नेपालमा नौ वर्ष अघि सुरु भएको एसक्युसी कार्यक्रम मोरङमा तीन वर्ष अघि मात्र सुरुवात भएको हो । बिहीबार कानेपोखरी -७ को आदर्श इङ्लिस स्कुलले आयोजना गरेको कार्यक्रममा सात वटा संस्थागत विद्यालयका विद्यार्थीले आफ्नो आन्तरिक क्षमता प्रस्तुत गरेका थिए ।
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि स्टुडेन्ट्स क्वालिटी सर्कल कार्यक्रम कोशे ढुङ्गा बन्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ । अनुभव र भोगाईबाट पनि विद्यार्थीको क्षमता र गुणस्तरमा वृद्धि भएको कार्यक्रममा सहभागि शैक्षिक अगुवाहरूले बताउनु भयो । हरेक विद्यार्थीमा एउटा न एउटा क्षमता हुन्छ । तर , त्यो क्षमतालाई समाज सामू पस्कन सक्ने बनाउनु नै एसक्युसी कार्यक्रमको मूल मर्म हो ।
आयोजक मोरङ हवका कोअर्डिनेटर सुनीलदत्त अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा क्वेष्ट नेपालका केन्द्रीय सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि सागर श्रेष्ठले शिक्षा आदान प्रदानको शैली फेरिएसँगै गुणस्तरको मापन पनि फेरिएको बताउनु भयो ।उहाँले विद्यार्थीलाई घोकाउने रटाउने र कण्ठ पार्न लगाउने भन्दा स्वत ः स्फुर्त जवाफ दिन सक्ने बनाउनु पर्नेमा जोड दिँदै श्रेष्ठले एसक्युसीको अवधारणा पनि क्षमतावान जनशक्ति बनाउने रहेको बताउनु भयो । श्रेष्ठले हरेक विद्यार्थी क्षमतावान हुन्छन् । उनीहरूले अवसर नपाएका कारण आफ्नो सीप र क्षमता समाज सामू राख्न सकेका हुँदैनन । यो कार्यक्रमले म गर्न सक्छु । म पनि कम छैन् भन्ने धारणको विकास गराउँछ र विद्यार्थी स्वतस्फुर्त मैदानमा प्रतिस्पर्धाका लागि उत्रन सक्छ । अबको शिक्षा प्रविधियुक्त र गुणस्तरीय मात्रै होइन, आफ्नो क्षमता मापन गर्न सक्ने पनि हुनुपर्छ , – श्रेष्ठले भन्नुभयो ।
कानेपोखरी ५ का वडाध्यक्ष चरण गुरुङले समय सापेक्ष शिक्षा हासिल गर्ने प्रविधि र विधिलाई पछ्याउन एसक्युसी कार्यक्रमले सहयोग गर्ने बताउनु भयो ।
कानेपोखरी , बेलबारी र सुन्दरहरैँचाका ७ विद्यालयबाट १३० जना सहभागि भएको कार्यक्रममा विद्यार्थीको क्षमता मापन सम्बन्धी कार्यक्रमहरू भएका थिए । विद्यालयबाट सहभागी भएका विद्यार्थीहरूले सडक नाटक, गीत, नृत्य र शिक्षकले सोधेका प्रश्नहरूका विषयमा तत्काल जवाफ दिने अभ्यास प्रस्तुत गरेका थिए ।

























