रङ्गेली । मोरङको रङ्गेली नगरपालिकाले नगरको सात हजार बिगाहा जग्गामा सिंचाई हुने गरी कयर खोलामा बाँध निर्माण गरेको छ ।
नगरको वडा नं. १ र बेलबारी नगरपालिकाको वडा नं.६को सीमाना भएर बग्ने कयर खोलामा २ करोड ७५ लाख रुपियाँ खर्च गरी नगरले बाँध निर्माण गरेको हो । वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनालले भन्नुभयो – ९० प्रतिशत काम सम्पन्न भएको छ । सुरुमा सङ्घीय सरकारसँग सहयोगको लागि आग्रह गरेका थियौं । तर, सहयोग भएन । पछि सङ्घीय सरकारले ६० प्रतिशत साझेदारी अनुदान दिने भयो । त्यसपछि किसानका गरा गरासम्म पानी पु¥याउने गरी यो सिंचाई आयोजना नगरले गौरवका आयोजनाका रुपमा निर्माण गरिरहेको छ । नगर प्रमुख दिलिपकुमार अग्रवालले भन्नुभयो – हामीले वडालाई सिलिङ बजेट दिएका छैनौं । हरेक वडाको आवश्यकता र माग अनुसार एक एक वटा ठूला आयोजना निर्माण गर्ने नगरको योजना छ । सोही कार्यक्रम अन्तरगत वडा नं.१ मा सिंचाई योजना निर्माण गरेका हौं, नगर प्रमुख अग्रवालले भन्नुभयो । उहाँले बजेट छरेर बिकास नदेखिने बताउनु भयो ।
कयर खोला सिमा बाँध सिंचाई आयोजनाले नगरका वडा नं.१ र २ मा पूर्ण रुपमा सिंचाई हुने भएको छ । त्यस्तै वडा नम्वर ३,४ र ५ मा आंशिक रुपमा सिंचाई हुनेछ । बाह्रै महिना पानीको स्थायी स्रोत रहेको कयर खोलामा बाँध निर्माण भएपछि खोलाको दुबै तर्फ कटानको समस्या समेत रोकिएको छ । खेर जाने पानी प्रयोगमा आउने भएपछि स्थानीय किसान खुसी भएका छन् । खोलामा पानी बगिरहन्थ्यो । तर, सिंचाईका लागि बोरिङ प्रयोग गर्नुप¥थ्यो । अब खोलाको पानीले सिंचाई गर्न पाइने भयो–स्थानीय किसान रामनारायण चौधरीले भन्नुभयो । चौधरीका अनुसार हिउँदमा सानो पानी हुँदा पनि दक्षिण बग्ने पानी पुरै थुनेर खेतमा लान सकिने गरी बाँध निर्माण गरिएको छ ।
अर्का किसान ईश्वरचन्द माझीले भन्नुभयो – किसानका लागि बाटो घाटो भन्दा सिंचाई नै महत्वपूर्ण रहेछ । उहाँले हिउँद वर्खा नै पानीको स्रोत भएपछि खेती निर्धक्क रुपमा गर्न पाइने भयो । उहाँले बिगतमा बगेर जाने पानी उपभोग गर्न पाएकोमा खुसी प्रकट गर्नुभयो । मोरङको रङ्गेली,सुनवर्षी, रतुवामाई नगरपालिकाका र कानपोखरी, धनपालथान, कटहरी, जहदा गाउँपालिका धान उत्पादन हुने सघन क्षेत्र हुन् ।

























