कानेपोखरी, ३ असोज । कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बस्तुको उत्पादन गरेर आफैं मुल्य निर्धारण गर्न महिलाहरूलाई आग्रह गर्नु भएको छ । मोरङको कानेपोखरी ६स्थित दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं साधारणसभाको बुधबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
अझै पनि श्रीमानले मुल्य निर्धारण गर्नुपर्छ भन्ने सोच दिदीबहिनीहरूमा बसिरहेको बताउँदै समाज रुपान्तरण भइसकेपनि मानसिक रुपमा पुरुष प्रधान छाप रहिरहेको उहाँको भनाई थियो । महिलाहरूले सञ्चालन गरेका सहकारी संस्थाका कारण कानेपोखरीमा महिला शशक्तिकरणका क्षेत्रमा ठूलो परिवर्तन भएको बताउँदै उहाँले थप्नुभयो – नेतृत्व गर्न सक्ने महिला मात्र होइन । पुरुषको बाटो नहेरी आय आर्जन गर्न सक्ने क्षमता पनि सहकारीका माध्यमबाट निर्माण भएको छ । महिलाहरू काम प्रति इमान्दार र आर्थिक रुपमा कम खर्च गर्न सक्ने भएकोले महिलाहरूले सञ्चालन गरेका सहकारीहरू कतै पनि समस्याग्रस्त नभएको उहाँले बताउनु भयो ।
साधारणसभाको उद्घाटन सत्रमा कानेपोखरी ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी र वडा नं.६ का वडाध्यक्ष खड्गबहादुर बस्नेतले महिला दिदीबहिनीहरूले सञ्चालन गरेका सहकारीहरूसँग वडाले सहकार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा वृद्ध तथा एकल महिला सम्मानबाट सीमा तामाङ सम्मानित हुनुभयो ।
यसैगरी बाल बचत उत्कृष्ट पुरस्कारबाट सुशान्त कार्की,ऐच्छिक बचत तर्फ ताराकुमारी खड्का,शेयर तर्फ सविता खड्का,नियमित बचत तर्फ कल्पना राई र दीर्घकालिन बचत तर्फ बिमला कट्वाल पुरस्कृत हुनुभयो । यस्तै जोडाजोडी बचत तर्फ धनमाया राई,उत्कृष्ट कारोवार गर्ने समूह तर्फ नवजागरण समूह, उत्कृष्ट समूह प्रतिनिधि तर्फ धम्कुवा समूहकी सुन्दरी धिमाल र गुराँस समूहकी दिलमाया सुनुवार पुरस्कृत हुुनुभयो ।
संस्थाकी ब्यवस्थापक रुकमणि कार्की उत्कृष्ट कर्मचारी पुरस्कारबाट पुरस्कृत हुनभयो भने उद्यमी सदस्य सम्मानबाट तारादेवी तामाङ,भीमकुमारी दाहाल, इन्दिरा रिमाल,बद्धिमाया लिम्बू,दिलमाया राई,हरिमाया पौडेल,सविना राई , पवित्राकुुमारी निरौला र सुभद्रा अधिकारी सम्मानित हुनुभयो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमति इङ्नाम ,वडाध्यक्षद्वय मोहनप्रसाद अधिकारी र खड्गबहादुर बस्नेत लगायतले पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
संस्थाका अध्यक्ष उमा मगरले आर्थिक वर्ष ०७९/०८० को प्रगति प्रतिवेदन र आगामी आव ०८०/०८१ को प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष स्वस्तिका अधिकारीको आर्थिक प्रतिवेदन कार्यालय सहायक डिल्लीमाया बस्नेतले प्रस्तुत गर्नुभयो । संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक योगिता बस्नेतले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
गाउँपालिका भरिका ७३ वटा समूहका १ हजार १९६ जना सदस्य रहेको दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको असार मसान्त सम्ममा शेय पुँजी ६०लाख ११ हजार ६ सय पुगेको छ । बचत निक्षेप ३ करोड १९ लाख ९३ हजार ५४२ रुपियाँ रहेको दीगोपन सहकारीको कोषमा ९३ लाख ३४ हजार ५२९ रुपियाँ रहेको छ । संस्थाले विभिन्न छाता संस्थामा १ लाख २७ हजार रुपियाँ लगानी गरेको छ । संस्थाले गत आवमा २ करोड ८७ लाख २४ हजार ६८५ रुपियाँ ऋण लगानी गरी २ करोड ३६ लाख २५ हजार ८७५ रुपियाँ असुली गरेको छ । संस्थाले गत वर्षको कारोवारबाट ३ लाख ९ हजार ४३७ रुपियाँ शुद्ध बचत गरेको छ ।
संस्थाको आफ्नै कार्यालय परिसरमा भएको साधारणसभा संस्थाकी ब्यवस्थापक रुकमणी कार्कीले सञ्चालन गर्नु भएको थियो ।






