पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरपालिकाको पथरीस्थित पञ्चायत माविमा विभिन्न विषय र संकाय अन्तर्गत कक्षा ११ का लागि भर्ना खुलेको छ । स्थानीय बालिका निकिता राईले यसवर्ष एसईईमा ३.९६ जीपीए ल्याएर जिल्लामै पहिलो स्थान कायम गरेको यो माविमा पथरीशनिश्चरे नगरपालिकाबाहेक देशभरका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । ‘पञ्चायत माविको कार्यदक्ष, बालबालिकाको भविष्यको सुनिश्चितता’ भन्ने विद्यालयको ‘स्लोगन’ अनुसार नतिजा निकाल्नमा सफल यो सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाकै कारण आकर्षण बढेको स्थानीयको भनाई छ ।
शिक्षामा अब्बल पञ्चायत मावि कक्षा ११ मा विज्ञान, कानून, ललितकला, मानविकी, व्यवस्थापन, शिक्षा, पत्रकारिता, सिभिल संकायमा भर्ना खुलेको हो । पञ्चायत माविमा उच्च मावि तहको पढाइ नेपाल सरकार शिक्षा विभागले ल्याएको एक निर्वाचन क्षेत्र एक नमूना विद्यालय कार्यक्रम अन्तर्गत सुरु भएको हो । २०३६ सालमा स्थापना भएको पञ्चायत माविमा पूर्णतः मण्टेश्वरी आधारित शिशु कक्षादेखि १२ कक्षासम्म र प्राविधिकधारतर्फ सिभिलको पढाई हुँदै आएको छ । 
अनुशासन र आचरणसहित प्रयोगात्मक शिक्षामा ध्यान दिँदै आएको यस विद्यालयमा ३ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । अब कक्षा ११ मा भर्ना विद्यार्थी भर्ना भएपछि यो सङ्ख्या बढ्ने सहज अनुमान गर्न सकिन्छ । सामुदायिक विद्यालयमाझ पृथक यस माविमा ४ कक्षादेखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको छ । मण्टेश्वरी आधारित शिशु कक्षादेखि कक्षा ४ सम्म बेग्लै भवन र यसको सञ्चालन व्यवस्थापनका लागि प्रशासनिक संरचना छ ।
कक्षा ११ को प्रवेश परीक्षा असार २४ गते सोमबार विहान ८ बजेदेखि हुने कार्यतालिका रहेको छ । यसपटक कक्षा ११ र १२ लाई बिहानी सत्रमा र सोभन्दा कनिष्टलाई दिउँसोसत्रमा सञ्चालनमा ल्याइने सोच रहेको विद्यालय ब्वस्थापन समितिका अध्यक्ष युवराज बाँस्कोटाले बताउनुभयो ।

























