कानेपोखरी/ प्रतिनिधि सभामा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले राज्यले माध्यमिक तहसम्मको शिक्षा निशुल्क र गुणस्तरीय बनाउन आवश्यक पुर्वाधार तयार गरिरहेको बताउनुभएको छ । साउन २४ गते बुधबार मोरङको कानेपोखरी २ दलेलीस्थित शिक्षा विकास माविको नमुना भवन उद्घाटनका अवसरमा उहाँले सो कुरा बताउनु भएको हो ।
मानव विकासका लागि आवश्यक सबैभन्दा पहिलो चेतना र ज्ञान नै शिक्षा भएको बताउँदै उहाँले पढ्दै कमाउँदै गर्ने खालको शैक्षिक व्यवस्था नभएकोले नेपालको शिक्षा क्षेत्र पछि परेको बताउनुभयो । अहिले स्थापित भएको शिक्षकले नपढाएर विद्यार्थी धेरै फेल भएको भाष्य चिर्न सुझाव दिँदै उहाँले भवन राम्रो बन्दैमा गुणस्तरमा सुधार हुँदैन ,त्यसैले गुणस्तर वृद्धिमा लाग्न आग्रह गर्नुभयो । एक फरक प्रसङ्गमा उहाँले देशको आवश्यकताले नयाँ गठबन्धन बनेको बताउनुभयो ।
कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इङ्नामले आफ्ना नानीहरू पढ्ने विद्यालयको अनुगमन स्वयं अभिभावकले गर्नुपर्ने बताउनुभयो ।उहाँले गरिव,आदिवासी ,जनजाति र दलित समुदायका नानीहरू पढ्ने विद्यालयलाई पुर्वाधार सम्पन्न बनाउन यो विद्यालय रोजिएको बताउनु भयो ।
सोही अवसरमा तोकिएको समय भन्दा ६ महिना अघि विद्यालयको शैक्षिक भवन निर्माण गरी हस्तान्तरण गर्ने खान विल्डर्स एण्ड सप्लायर्स इनरुवा सुनसरीलाई मोरङको कानेपोखरी गाउँपालिकाले सम्मान गरेको छ ।
कम्पनीका सञ्चालक अफरोज खानलाई सांसद पोख्रेलले सम्मान गर्नु भएको हो । कम्पनीले विद्यालयको शैक्षिक भवन निर्माणका लागि २०७९ पुस १४ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार भवन २०८१ को पुस १४ गते निर्माण सम्पन्न गर्नुपर्ने थियो ।तर, कम्पनीले ६ महिना अघि असार १५ गते भबन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरेको हो ।
संघीय सरकारको विशेष अनुदान अन्तरगत प्राप्त २ करोड ७९ लाख ५८ लाख १०५ रुपियाँमा खान विल्डर्स एण्ड सप्लायर्सले निर्माण गरेको हो ।सोही अवसरमा विद्यालयलाई जग्गादान गर्नुहुने कमलप्रसाद जमरकट्टेल ,पुर्व शिक्षक ज्ञानेन्द्र खड्का र कुवेर ढकाल, ब्यवस्थापन समितिका पुर्व अध्यक्ष शम्शेरबहादुर निरौला,जेष्ठ शिक्षक सन्तलाल चौधरी,वडाका उत्कृष्ट शिक्षक श्यामकुमार चौधरी र विद्यालयका पुर्व शिक्षक मेघराज मुखियालाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास पौडेलको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भोलाप्रसाद अधिकारी ,वडा नम्बर २ का वडाध्यक्ष सुशीलकुमार बुढाथोकी,कानेपोखरी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव ,विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर निरौला लगायतले बोल्नु भएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक सञ्जीव खड्काले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्यार्थीहरूले सांगितिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

























