कानेपोखरी । मङ्गलबार मोरङको कानेपोखरी –७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहले मानव आक्रमणबाट मासिदै गएका गएका वनस्पतिको पुर्नउत्पादनका लागि लोपोन्मुख बिरुवाको वृक्षरोपण गरेको छ । वनले लोपोन्मुख हुँदै गएका बिरुवाहरू सामूदायिक वनको खालि क्षेत्रमा रोपेको हो ।
गत मङ्गलबार औपचारिक रुपमा उद्घाटन भएको बिरुवा रोपण कार्यक्रम शुक्रबार सम्पन्न भयो । बनका अध्यक्ष देवेन्द्र थापाले डेढ हेक्टर खालि जग्गामा २ हजार ४ सय बिरुवा रोपिने बताउनु भयो । स्थानीय लोपोन्मुख रैथाने प्रजातिका बिरुवा हुर्काउने अभियान अन्तरगत वृक्षारोपण गर्न लागिएको वनका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो । काठ उत्पादन गर्ने भन्दा पनि जङ्गली जनावर मैत्री वन बनाउने अभियान अन्तरगत बिरुवा रोपिएको थापाको भनाई छ । उहाँका अनुसार फडिर, जामुन,कुसुम,केरा, कटहर, आँप,बडहर लगायतका बिरुवा रोपिएको छ ।
कानेपोखरी सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत अल्लाउद्धिन अन्सारीले वृक्षारोपण कार्यक्रममा बोल्दै बिरुवा राप्ने भन्दा हुर्काउने चुनौति बढेको बताउनु भयो । जङ्गलमा नभएका लोपोन्मुख प्रजातिका बिरुवा हुर्काउन सके बन जङ्गली जनावर मैत्री बन्न सक्ने उहाँको भनाई थियो । दाउराको कारणले भन्दा घाँसका कारण कुसुम, फडिर,बन केरा,आँप,कुम्भी लगायतका वनस्पति मासिएको उहाँले बताउनु भयो । जङ्गलमा मानव अतिक्रमण बढेकोले बाँदर लगायतका जङ्गली जनावर बस्ती पसेको बताउँदै उहाँले जङ्गली जनावरले जङ्गलमा खानेकुरा पाए भने बस्तीम नपस्ने बताउनु भयो ।
वन बिस्तार कार्यक्रम अन्तरगत १ लाख ९७ हजार रुपियाँको लागतमका वृक्षारोपण सञ्चालन गरिएको वनका ब्यवस्थापक हिमप्रसाद तिम्सिनाले बताउनु भयो ।

























