७ भदौ, काठमाडौं। तनहुँको आँबुखैरेनीस्थित ऐना पहारबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट निकालिएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको जानकारी दिए। शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐना पहार भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो। बस नदी किनारमा अड्किएको छ।
प्रहरीले बस दुर्घटनामा ठूलो हताहती भएको जानकारी दिएको छ। तनहुँका डीएसपी दीपक कुमार रायका अनुसार उद्धार कार्य जारी रहेको छ, र मृतक तथा घाइतेको संख्या बढ्न सक्ने सम्भावना छ। बसमा चालक, सहचालकसहित ४३ जना सवार थिए।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको नेतृत्वमा १० जना गोताखोरसहित ४५ जनाको टोली र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा खटिएको छ।
घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धार कार्यमा सक्रिय छन्।






