मोरङ(उर्लाबारी) । कुनै समय जिल्लाको सबैभन्दा ठूलो बजारमा गनिने मोरङको उर्लाबारी–९ स्थित आमबारी बजारलाई ब्युताउँन स्थानीयहरू सक्रिय भएका छन् ।
पूर्वपश्चिम राजमार्ग खुल्नु अघि मोरङका हरैँचा, आमबारी,मधुमल्ला र लेटाङ बजार जिल्लाकै ठूला बजारमा गनिन्थे । वडाहाकिम कालिन समयमा आमबारी बजार भर्न उत्तरका गाउँ देखि झापा सम्मका मानिस पुग्ने गर्थे ।भारत देखि घोडा र बयलगाडामा खाद्यन्न,दाल, तेलहन लिएर बिक्री गर्न आउने ब्यापारीको भीड लाग्थ्यो । तर, पूर्वपश्चिम राजमार्ग खुलेसँगै राजमार्ग दक्षिणका बजारहरू ओझेलमा परे । त्यसमा पनि पहाडी उत्पादनसँग नजोडिएका बजारहरू अझ सङ्कटमा परेको स्थानीय बताउँछन् ।
आमबारी बजारको साख फर्काउन यतिबेला स्थानीयले बजारबाट पूर्व दक्षिणको सडकलाई बहुसाँस्कृतिक फूलबारी मार्ग नामाकरण गरेर सौन्दर्य भर्न थालेका छन् । फूलबारीमार्गको किनारमा दिवङ्गत भएका आफ्ना बुबाआमाको नाममा बिरुवा रोप्न थालिएको छ । २८० मिटर सडक कालोपत्रे सम्पन्न गरेर सडकको दुबै तर्फ ११७ वटा बिरुवा रोपिएको छ । आफ्नो परिवारबाट दिवङ्गत भएका अभिभावकको सम्झनामा उपभोक्ता सदस्यले लण्डनधुपी, बेगम, साइप्रस,एरिनापाम,बेली, लालुपाते र कल्की लगायतका फूलका बिरुवा रोपेपछि आमबारी बजार उज्यालो भएको छ । उपभोक्ता समितिका संयोजक विजय आङ्बुहाङले भन्नुभयो– आमबारी बजारको जग बसाउने बुढापाकाहरू जो अहिले हुनुहुन्न । उहाँका सन्तानहरू स्मृतिमा बिरुवा उपलब्ध गराउनु भयो । हामीले ति बिरुवा रोपेर संरक्षणको जिम्मा लिएका छौं । उहाँका अनुसार चौकीलाल धिमाल,कुलबहादुर पोमु,सन्तकुमार आङ्बुहाङ,लीलाप्रसाद सेन्दाङ,मेघबहादुर लाबुङ,नरबहादुर थेवे,झलाई धिमाल र बेलबहादुर लिङ्थेप लगायतको सम्झनामा बिरुवा रोपिएको छ ।
२५ लाख रुपियाँमा सडक कालोपत्रे भएपछि ४ लाख ७० हजार रुपियाँ खर्चेर प्रवेशद्वार निर्माण गरिएको छ । सडकको पूर्व तर्फ जिल्लाकै सबैभन्दा राम्रो आमबारी खेलमैदान रहेको छ भने पश्चिम तर्फ सार्वजनिक मावि रहेको छ । फूलबारी मार्ग निर्माणमा हालसम्म ३ लाख ६५ हजार रुपियाँ खर्च भइसकेको छ । धिमाल र लिम्बू जातिका ग्रामथा.न र माङ्हिम समेत रहेको आमबारीमा धिमाल होमस्टे सञ्चानको तयारी समेत भइरहेको छ ।
उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तानले पनि आमबारी बजारको साख फर्काउन नगरले बजारलाई ब्यवस्थित गर्ने योजना अघि सारेको बताउनु भयो । वडाध्यक्ष मोक्तानका अनुसार बजारको जग्गा छुट्याएर स्थायी टहरा निर्माण गर्ने,पानी र बिजुलीको प्रबन्ध मिलाउने काम भइरहेको छ । नगरको मात्र नभई जिल्ला कै ऐतिहासिक बजारलाई नमूना बजार बनाउने अभियान सुरु गरेका छौं, वडाध्यक्ष मोक्तानले भन्नुभयो ।






