Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

कानेपोखरी/ माेरङकाे कानेपोखरी–७ स्थित मातृभुमि कृषि सहकारी संस्था लि. को ११ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
स्थानीय आदर्श इङ्लिस स्कुलको प्राङ्गणमा भएको साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि कानेपोखरी –७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले कृषि सहकारीसँग उत्पादन वृद्धि र बजारीकरणका लागि वडा कार्यालयले साझेदारी गर्न सक्ने बताउनु भयो । अधिकारीले कृषि सहकारी र वडा कार्यालयले कृषि क्षेत्रमा तह गरेका कार्यक्रम मिल्दा जुल्दा भएको बताउँदै संयुक्त रुपमा गर्न सक्दा अझ प्रभावकारी बन्ने बताउनु भयो ।
जिल्ला कृषि सहकारी संघ लि. मोरङका उपाध्यक्ष सोभितमान पौडेलले कृषि सहकारीहरूले स्थानीय बजार हेरेर उत्पादनमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँको भनाई थियो – बजारमा कुन बस्तुको माग कति बेला उच्च हुन्छ , त्यो बुझेर उत्पादन गर्नसके किसानले राम्रो फाइदा लिन सक्छन् । जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. कानेपोखरी –७ का अध्यक्ष सञ्जीव खड्काले संस्था ठूलो बन्दै जाँदा समस्या पनि नयाँ खाले आउने बताउँदै समस्याको समयमा नै निराकण गर्न सक्ने जनशक्ति पनि आवश्यक पर्ने बताउनु भयो । उहाँले भन्नुभयो – ‘फरक प्रकृतिका सहकारी भए पनि कारोवार गर्ने सदस्य उही छन् । त्यसकारण ऋण कारोवार गर्ने क्रममा सहकारी संस्था बिच समन्वयको आवश्यक छ ।’
संस्थाका अध्यक्ष हिमप्रसाद तिम्सिनाले आव २०८०/०८१ को प्रगति प्रतिवेदन र चालु आव ०८१/०८२ का लागि प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नुभयो । त्यस्तै कोषाध्यक्ष धान्यप्रसाद अधिकारीले चालु आवका लागि ७० लाख ७६ हजार ५६० रुपियाँको अनुमानित आय ब्यय प्रस्तुत गर्नुभयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक नीलकण्ठ अधिकारीले समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा उत्कृष्ठ कारोवार गर्ने किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । बचत तर्फ भक्तबहादुर श्रेष्ठ,ऋण कारोवार तर्फ पवित्रा माझी, शेयर कारोवार तर्फ रविलाल राई र ऐच्छिक बचत कारोवार तर्फ शर्मिला राजवंशीलाई सम्मान गरिएको थियो । यस्तै उत्कृष्ठ किसान पुरस्कारबाट कविराज मगर, सर्वाधिक दूध बिक्री गर्ने किसान पुरस्कारबाट रिताकुमारी तामाङ पुरस्कृत हुनुभयो । संस्थाले ज्येष्ठ सदस्य सम्मानबाट धनकुमारी दाहाल र मुक्तिप्रसाद अधिकारीलाई सम्मान गरेको छ ।
कुल ७२५ जना शेयर सदस्य रहेको मातृभुमि कृषि सहकारी संस्था लि.मा ३७ लाख ३२ हजार ३ सय रुपियाँ शेयर पुँजी रहेको छ । यस्तै १ करोड ५५ लाख ९५ हजार १९६ रुपियाँ बचत/निक्षेप रहेको सहकारी संस्थामा १५ लाख ५५ हजार ७२८ रुपियाँ कोष हिसावमा रहेको छ । संस्थाले १ करोड ४० लाख ९३ हजार ९१८ रुपियाँ ऋण लगानी गरेको छ ।
संस्थाका सचिव सूर्यप्रसाद कोइरालाले सञ्चालन गर्नु भएको साधारणसभामा उपाध्यक्ष चेतनाथ गाैतमले स्वागत गर्नुभएको थियो ।



Share via
Send this to a friend