बेलबारी । ‘साँघुरी वारि नै हौं त्यो धारापानी,
गड्तिरको हौ हजुर बालुवा,
खरो नि सुर्ती नि बाडुल्की लाग्यो
खानुहोस लौ हजुर मलुवा ’
स्वर किन्नरी तारादेवीको स्वरको प्रस्तुत गीत २०३० को दशकमा निक्कै चलेको थियो । त्यसयता पनि यो गीत गाउँ बेशीमा मात्र होइन, सांगितिक कार्यक्रमहरू पनि उत्तिकै चल्ने गरेको छ । तारा देवीले गाएको यो गीतका रचनाकार हुनुहुन्छ, स्वर्गीय पुण्यप्रसाद सुवेदी । सुवेदीको शालिक २०७१ को मङ्सिर २१ ग्ते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालिन कुलपति गङ्गाप्रसाद उप्रेतीले एक प्राज्ञिक समारोहका बिच मोरङको बेलबारीमा अनावरण गर्नुभएको थियो ।
बेलबारी नगरपालिकाकै पहिलो शालिकका रुपमा नगरपालिका तत्कालिन जिविस मोरङ र स्थानीय बेलबारी साहित्य समितिले संयुक्त पहलमा शालिकको स्थापना गरिएको थियो । बेलबारी–३ को खानेपानी टोलको त्रिवेणीमा राखिएको सालिक अहिले ढलिसकेको छ । सालिक एकैदिन ढलेको होइन ।तर, कसले किन ढलाए , बेलबारीका कोहीसँग जवाफ छैन् ।स्थानीय तह गठन भएपछि सबैभन्दा पहिले प्रज्ञा प्रतिष्ठान गठन भएको नगरपालिका बेलबारी हो ।तर, प्रतिष्ठानले पनि सालिक उठाउने विषयमा चासो देखाएको छैन् । प्रतिष्ठानका अध्यक्षले रेखा सुबेदीले भन्नुभयो – सालिक अर्को बनि सकेको छ । तर, कहाँ थन्किएको छ ,जानकारी छैन् । उहाँले प्रतिष्ठानले मात्र सालिक पुन उठाउने विषय टुङ्ग्याउन नसक्ने बताउनु भयो ।बेलबारी साहित्य विकास समितिका पूर्व अध्यक्ष तिला लेकालीले भन्नुभयो – नयाँ सालिक बनिसकेको छ । राख्ने उपयुक्त जग्गा खोजि भइरहेको छ । जग्गा प्राप्त हुनासाथ सालिक ठड्याइन्छ ।
सुवेदीको रचनाका धेरै लोक गीतहरू कालजयी बनेका छन् । तर,पछिल्लो समय गाउनेको नाम मात्र प्रचार हुन थालेपछि सुवेदी मात्र होइन,धेरै रचनाकारहरू ओझेलमा पर्दै जानु भएको छ । ओझेलमा पर्ने एक स्रष्टा हुनुहुन्छ – गीतकार सुवेदी पनि । सुवेदीका एक दर्जन बढी गीत २०४० को दशक सम्म खुवै चलेका ।
घुमाईमा घुमाई घुम बन्ने दाइ ……………………,
शीतलु माथि शीतलु भयो……………..
लगायतका लोकगीतहरू आज सम्म पनि कर्णप्रिय गीतमा गनिएका छन् ।
त्रिभुवन विश्व विद्यालयबाट दोस्रो ब्याचमा नेपालीमा स्नातकोत्तर गर्नु भएका सुवेदीका धुँवाका चक्काहरू कथासंग्रह,पुण्यप्रसाद सुवेदीका कविता लगायतका कृतिहरू नेपाली साहित्यकासमा चर्चित छन् । १९९० मा तेह्रथुमको सावलामा जन्मिनु भएका सुवेदी काठमाडौंको महेन्द्र रत्न कलेजका संस्थापक मध्येका एक हुनुहुन्छ ।
सुर्यबहादुर थापा पहिलो पटक मन्त्रीपरिषदको अध्यक्ष हुँदा थापाको स्वकीय सचिव बन्नु भएका सुबेदी मोरङको बेलबारीलाई विकासको बाटो देखाउने पहिलो अगुवा मानिनु हुन्छ । उहाँको २०४२ साल असोज ६ गते मृत्यु भएको थियो ।

























