पथरीशनिश्चरे । पुर्व पश्चिम राजमार्ग बिस्तारका लागि मोरङको पथरीशनिश्चरे १० जिरिखिम्तीमा बसेको निर्माण कम्पनीको अस्थायी क्याम्पले स्थानीय बासिन्दालाई दुख दिन थालेको छ ।
स्थानीय जग्गाधनी र साँधसधियाँरको सहमति बिना बसेको क्याम्पले सुरुमा एउटा सम्झौता गरेर हाल सम्झौतामा उल्लेख भएका काम नगरेको स्थानीयले बताएका छन् ।पथरीशनिश्चरे –१० जिरिखिम्तीका गङ्गाबहादुर कट्वाल,गणेश कट्वाल, ओविन कट्वाल लगायतको झण्डै आठ बिगाहा जमीन ८ वर्षका लागि लिजमा लिएर निर्माण कम्पनीको बसेको हो । क्याम्प बस्नु अघि जग्गाधनी र कम्पनी सञ्चालकले स्थानीयललाई पौडीपोखरी,शौचालयहरू,ब्याडमिन्टन कोर्ट लगायत बनाइदिने र त्यो स्थानीयले प्रयोग गर्न पाउने भनिएको थियो । तर, २०८१ साउन १ गते यता स्थानीयले ब्याडमिन्टन र पौडी खेल्न होइन । क्याम्प परिसर भित्र छिरेर आफ्ना समस्या समेत राख्न पाएका छैनन । हालसम्म भित्र कुनै पनि संरचना नबनाइएको स्थानीयको भनाई छ ।
स्थानीय सरकार मात्र होइन, कम्पनी रजिष्ट्रार कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले समेत सामान्य उद्योग खोल्नु पूर्व साँध सधियारको सहमति माग्छ । सहमति प्राप्त भएपछि सरजमिन गरी वडाको सिफारिस लगेपछि उद्योग दर्ताको प्रमाणपत्र पाइन्छ । तर, अर्वौंको निर्माण कम्पनी बस्दा पनि हामी सँधियारको सहमति चाहिएन । स्थानीय विदुर बस्नेतले भन्नुभयो – हाम्रो सहमति बिना क्याम्प बस्यो , हामीले केही पनि भनेनौं । हाल आएर पानी ल्याउने राज कुलो पुरिदिएको छ । हामीले पटक पटक कुलोको ब्यवस्था गरिदिनु पर्ने माग राख्यौं । हाम्रो कुराको सुनुवाई भएन । राजकुलो पुरिदिँदा राजमार्ग दक्षिण तर्फका किसानले धान खेती गर्न पाएनन् ।पानीको निकास बन्द हुँदा राजमार्ग उत्तरका घरहरू डुवानमा परे । राजमार्ग उत्तरका चन्द्रबहादुर दियालीले भन्नुभयो – दक्षिण जाने पानीको कुलो पुरिदिँदा हाम्रो बस्ती डुवानमा प¥यो । गत असोज १२÷१३ मा आएको बाढीले गाउँ नै डुबानमा परेको दियालीले सुनाउनु भयो ।
कट्वाल परिवारका कोही पनि जिरिखिम्तीमा बस्नुहुन्न । धेरै जसो विराटनगर र काठमाडौ बस्नुहुन्छ । कोही अमेरिकामा बस्नुहुन्छ । उहाँहरू आफू नबस्ने भएपछि हामी स्थानीयको विषयमा कुनै सरोकार भएन । गोविन्दबहादुर श्रेष्ठले भन्नुभयो – कुलो मासेपछि बोरिङ गाडी दिनुप¥थ्यो । क्याम्प भित्रको शौचालयको ड्रेन फुटेर बस्तीमा झरेको छ । गुनासो गर्न जाँदा उल्टो गाली गर्छन् । हाम्रा कुरा कोही सुन्दैन ।कृष्णप्रसाद ढुङ्गानाले भन्नुभयो– मेसिनमा सिमेन्ट र बालुवा गिट्टी हाल्दा धुलोले गाउँ नै छोपिन्छ ।
स्थानीय डाँस मोरङ्गी सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि निरौलाले भन्नुभयो – हामी विकास बिरोधी होइनौं । बिकास हुनुपर्छ । मानव स्वास्थ्यमा असर नपारिकन काम गर्नुपर्ने हाम्रो माग हो । एउटाको जग्गा लिजमा लिएको छ । सधियाँरको बालिमा ढुङ्गा बालुवाले पुरिदिएको छ । स्टक गरेको ढुङ्गा आफ्नो जग्गामा झरेर यो वर्ष बालि उठाउन नपाएको उजिरबहादुर राईले बताउनु भयो । राईले भन्नुभयो – गुनासो गर्न गयो भने गाली गरेर पठाउँछन् । कसलाई सुनाउने ब्यथा । वडाध्यक्षलाई भन्यो भने मिल्नोस भन्नुहुन्छ । हामी साना मान्छे झगडा गर्न खोजेकै होइन, उजिरबहादुरको भनाई छ ।
कालोपत्रे गर्ने अलकत्र र बालुवा गिट्टी पकाउने अस्फाल्ट प्लान्ट समेत राख्ने गरी जग्गा धनी र वेदालय कन्ट्रक्सन प्रालि मध्यपुर ठिमी र जग्गाधनी गणेशबहादुर कट्वाल बिच ८ वर्षका लागि सम्झौता भएको छ । तर, स्थानीय अस्फाल्ट राख्न नदिने पक्षमा छन् । गत पुस १३ गते कम्पनीका प्रतिनिधिलाई राखेर स्थानीय ११३ घर परिवारले हालसम्मको क्षति र असरका विषयमा जानकारी गराएको साूदायिक वनका अध्यक्ष हरि निरौलाले बताउनु भयो ।
पूर्वपश्चिम राजमार्ग विस्तार आयोजना पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतिले स्थानीय र कम्पनी बिचको बिबाद बारे आफूलाई कुनै जानकारी नभएको बताउनु भयो । उहाँले भन्नुभयो – हामीलाई यो बिबादका विषयमा कुनै जानकारी छैन् ।
उता निर्माण कम्पनी वेदालय कन्ट्रक्सन प्रालिका अध्यक्ष सीताराम अर्यालले भन्नुभयो – उहाँहरू एउटा समिति बनाएर समस्या लिई आउने भन्नु भएको छ । उहाँहरूको माग पुरा गर्न हामी तयार छौं । हामीले संस्थागत आउनु भनेका छौं ।

























