Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

बसन्तपुर(तेह्रथुम )। हरियो चियापत्ती प्रशोधन गर्ने प्लान्ट नहुँदा तेह्रथुमको लालीगुराँस नगरपालिका क्षेत्रमा चिया खेती गर्दै आएका किसानको हरियो पत्ती बोटमै खेर गइरहेको छ ।
लालीगुराँस ९ को संसारेस्थित सिंहदेवी चिया उत्पादक सहकारी संस्था लि.ले १हजार दुई सय रोपनीमा चिया खेती लगाएको छ। सहकारीमा आवद्ध १४५ किसान सहित २ सय किसानले लगाएको चियापत्ती प्रशोधन गर्ने प्लान्ट नहुँदा हरियो पत्ती बोट मै खेर गएको हो ।२०७५ देखि ब्यावसायिक चिया खेती गर्दै आएका किसानले सहकारी मार्फत दैनिक २५० केजी हरियो पत्ती प्रशोधन गर्ने प्लान्ट सञ्चालन गर्दै आएका छन् ।तर,सहकारीलाई दैनिक एक हजार किलो हरियो पत्ती प्रशोधन गर्ने प्लान्टको आवश्यकता परेको हो । सहकारी संस्थाका अध्यक्ष टेकबहादुर मगरले भन्नुभयो – वार्षिक ८० हजार किलो हरियो पत्ती प्रशोधन गर्दा १६ हजार किलो (ग्रिन टि,गोल्डेन टि,सिल्भर टि,ब्याक टि )चिया उत्पादन हुन्छ । कारखानामा १० जना कामदार छन् ।प्रसस्त कच्चापदार्थ भएर पनि प्रशोधन गर्ने प्लान्ट नहुँदा कच्चापदार्थ त्यसै खेर गइरहेको छ। उत्पादित चिया सबै भारत र तेस्रो देश जान्छ,प्रतिकिलो ३ सय देखि ३ हजार ५ सय रुपियाँ सम्ममा बिक्री भइरहेको चियाको माग उच्च छ।तर, माग अनुसार प्रशोधन गर्न सकेका छैनौं । सहकारी संस्थाका ब्यवस्थापक वीरबहादुर बस्नेतले भन्नुभयो – १० वर्ष यता चियामा विषादी प्रयोग गरेका छैनौं ।शुद्ध अर्गानिक चिया भएकोले बजारको अभाव छैन । अरु पालिकामा भएको उत्पादन पनि खरिद गर्न दबाब छ । आफ्ना सदस्यले उत्पादन गरेको हरियो पत्ती प्रशोधन गर्न सकेका छैनौं । छिमेकी पालिकाको कसरी किन्ने ?

लालीगुराँस नगरपालिका बाहिर छथर गाउँपालिकामा १५० रोपनीमा जिरिखिम्तीमा ७५ रोपनीमा र सिक्दिनमा एकसय रोपनीमा चिया खेती भइरहेको छ । त्यहाँका किसानले केही वर्ष यता चिया टिपेका छैनन् ।
यसै बिच कोशी प्रदेश सरकारले ससर्त अनुदानमा नयाँ प्लान्ट ब्यवस्था गर्न २० लाख रुपियाँ विनियोजन गरेको छ। लालीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो – प्रदेशले पालिका मार्फत प्लान्ट खरिदको प्रक्रिया अघि बढाएको छ। फाष्टट्रयाकमा काम गरेर फागुन चैतमा उत्पादन हुने हरियो पत्ती प्रशोधन गर्ने गरी काम अघि बढाएका छौं । दुईवटा प्लान्ट राख्न सकियो भने खेर गइरहेको हरियो पत्ती प्रशोधन गर्न सकिने अधिकृत घिमिरेले बताउनुभयो ।



Share via
Send this to a friend