कानेपोखरी । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले स्काउटले सिकाएको ज्ञानबाट जीवनलाई परिवर्तन गराउन सकिने बताउनु भएको छ ।
मोरङको कानेपोखरी–६स्थित जनसेवा माध्यमिक विद्यालयमा आयोजना भएको तीन दिने पहिलो स्काउट क्याम्पको उद्घाटन गर्दै मन्त्री राईले यस्तो बताउनु भएको हो । राईले कितावबाट आर्जित ज्ञान भन्दा स्काउटबाट आर्जित सीप र ज्ञान बढी जिवनोपयोगी हुने बताउँदै ब्यहारमा लागु गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।“स्काउटले सिकाएको शिक्षाले माटोको माया बढाउने, देशप्रेमसँग जोड्ने उल्लेख गर्दै मन्त्री राईले भन्नुभयो – विपद्का बेला यस जनशक्तिले राष्ट्रलाई तन, मनले सहयोग गर्न सक्छ ।’ स्काउट शिक्षाले दक्ष नागरिक बन्न प्रेरित गर्ने धारणा राख्दै प्रमुख अतिथि समेत रहनु भएका मन्त्रीराईले स्काउट शिक्षासँगै सिप र प्रविधिमा आधारित शिक्षा दिन सकियो भने विद्यालयहरू बेरोजगार उत्पादन गर्ने थलो नबन्ने उल्लेख गर्नुभयो ।
कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले पालिका भित्रका ८ वटा सामूदायिक विद्यालय र र पाँच वटा संस्थागत माध्यमिक विद्यालय मध्ये चार वटाले मात्र कार्यक्रममा सहभागिता जनाउँदा खल्लो भएको बताउनु भयो । उहाँले सबै विद्यालयमा दक्ष जनशक्ति उत्पादन पालिकाको उदेश्य हो । यस्ता विशेष अवसरहरूमा सबैको सहभागिता जरुरी छ, उहाँले पालिकाले आवश्यक सहयोग उपलब्ध गराउने बताउनु भयो ।
कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष एवम् स्काउटर भोलाप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा स्काउटका आयुक्त मनोज कार्की,हेमन्त भण्डारी लगायतले बोल्नु भएको थियो ।
कानेपोखरी गाउँपालिकाको १ लाख रुपियाँ र सहभागि विद्यालयको संयुक्त लगानीमा भएको पहिलो स्काउट क्याम्पमा चार वटा विद्यालयका २९५ जना विद्यार्थीले सहभागिता जनाउने छन् । क्याम्पमा विभिन्न १२ वटा इभेन्ट्सका अभ्यासहरू गराइने छ । विद्यार्थीलाई आफैं खाना पकाएर खाने,भाडा माझ्ने देखि तीन दिनसम्म इन्टरनेटको संसारबाट अलग्गै राखेर ती अभ्यासहरू गराइने छ । अन्तिम दिन उत्प्रेरणको कक्षामा सामेल गरेपछि उनीहरूलाई दिक्षित गरिने कोशी प्रदेशका स्काउट आयुक्त हेमन्त भण्डारीले बताउनु भयो ।

























