उर्लाबारी । मोरङको उर्लाबारी–६ का ४४ वर्षीय सूर्यविक्रम याक्खाले आफ्ना पुर्खाले सिकाएको सिपलाई ब्यावसायमा परिणत गरेर मनग्गे आम्दानी गरिरहनु भएको छ ।
२०६६ साल देखि घरेलु मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ मर्चाको उत्पादन र बिक्री गर्दै आउनु भएका याक्खाले २०७४ मा कानूनी इजाजत लिनुभयो । कानूनी इजाजत प्राप्त नगर्दासम्म उहाँले धेरै दुख खेप्नुभयो । परम्परागत रुपमा आफ्ना पुर्खाले सिकाएको सीपलाई प्रयोग गरेर आर्थिक उपार्जनमा लाग्नु भएका याक्खाले ०७४ सालमा ठुली माइली मर्चा उद्योग दर्ता गर्नुभयो । धेरै कमाउने सपना बोकेर १० वर्ष साउदी अरब र ४ वर्ष कतारमा पसिना बगाउनु भएका याक्खा स्वदेश फर्केपछि मर्चा उद्योगलाई ब्यवस्थित बनाउन लाग्नुभयो । घरेलु मदिरा (रक्सी , तोङ्बा र जाँड ) बनाउन प्रयोग गरिने मर्चाको ब्यावसायिक उत्पादन थालेपछि याक्खाको बिदेश जाने सोच बदलियो ।
उर्लाबारी –६ आत्मानन्द टोलमा उहाँको उद्योग छ । नियमित ५ जना र माग बढेको बेला १५ कामदारलाई रोजगार दिएर याक्खाले उद्योग चलाइरहनु भएको छ । याक्खाको उत्पादन हाल नेपालमा मात्र नभई चीनको तिब्बत,बर्मा,भुटान र भारतको सिक्किम,दार्जिलिङ,असम सम्म जाने गरेको छ ।तर,उहाँ आफैं बिदेश पठाउनु हुन्न । एजेण्डले लान्छन् र बिदेश पठाउँछन् । दैनिक सात बोरा कनिकाको पीठोमा जङ्गली जडिबुटी मिश्रण गरेर बनाइने मर्चा नेपाली भूगोलको विशुद्ध उत्पादन हो । जहाँ नेपाली छन् त्यहाँ मर्चाको माग हुन्छ । पछिल्लो समय तिब्बतमा समेत मर्चाको माग हुने गरेको सुर्यविक्रमले सुनाउनु भयो ।
हाल वार्षिक करिब १ करोड रुपियाँको मर्चा उत्पादन गरिरहनु भएका याक्खाले भन्नुभयो – सबै खर्च कटाउँदा १५÷२० लाख रुपियाँ बचत हुन्छ । राम्रो बचत हुन थालेपछि याक्खाले बिदेश जाने सोच बदलेको सुनाउनु भयो ।
भाडामा जग्गा लिएर उद्योग सञ्चालन गरिरहनु भएका सुर्यविक्रमले हालसम्म उद्योगमा ८ लाख रुपियाँ लगानी गरिसक्नु भएको छ । मर्चा बनाउने आधुनिक उद्योग छैनन् । विगतमा पीठो ढिकी जाँतोमा पिस्नु प¥थ्यो । अहिले मिल आफैं राखेको छु । अरु विधि सबै परम्परागत छन् । पीठोमा जडिवुटी मिसेर बाबर जस्तो बनाउँदै पात माथि राखेर सुकाउनु पर्छ । तर,एकरात सम्म गुन्द्री,गजरामा खात, माथि खात गर्दै राख्नुपर्छ । त्यसमाथि सिरक वा ब्ल्याङ्केटले छोप्नुपर्छ । त्यसपछि वासादार मर्चा तयार हुन्छ ।

























