केराबारी । उत्तरी मोरङको केरावारी–याङ्सिला क्षेत्रबाट सङ्कटापन्न अवस्थामा रहेको सालक चोरी तस्करी बढेपछि स्थानीय नमूना पर्माकल्चर सिकाई थलो याङ्सिलाले ‘तस्करी’सडक नाटक प्रदर्शन गरेको छ ।
संसारभर फेव्रुवरीको तेस्रो शनिबार विश्वसालक सालक संरक्षण दिवस मनाइरहेको बेला मोरङको याङ्सिलामा सालक संरक्षणका लागि जनचेतना फैलाउन सडक नाटक प्रस्तुत गरिएको हो । मोक्ष थिएटरका कलाकारहरूले प्रस्तुत गरेको २२ मिनेटको नाटकमा किरण लिम्बू र रिना राई सालकको रुपमा प्रस्तुत हुनु भएको थियो । जङ्गलमा रमाइरहेको सालक गाउँहरूले जङ्गलमा घाँस दाउरा गर्न जाँदा देख्छन् । घाँस दाउरा गर्न गएका मध्ये अधिकांश सालक किसानको साथी हो , संरक्षण गर्नुपर्छ भनिरहेका थिए । तर,उनीहरू मध्ये कै तीर्थराज विश्वकर्माले सालकको बिक्री हुने र करोडौं पैसा कमाई हुने सुनेका रहेछन । त्यसपछि उनले गाउँले साथीहरूको कुरा नसुनि सालकको पक्रन्छन् । तर, गाउँघर कै साथीहरूले प्रहरीलाई सुनाइ दिन्छन् ।
प्रहरीले सालक चोरी गर्नेलाई पक्राउ गरेर जेल पठाउँछन् । सालक चोरी निकासी गर्नेलाई ५ लाख नगद र १० वर्ष कैद जरिवाना हुने सुनाइन्छ । त्यसपछि गाउँले सबैले सालक संरक्षणको प्रतिवद्धता गर्छन् । सडक नाटकमा एलिना रुम्दाली,मेनुका मगर,सन्दीप मादेन,प्रियङ्का राई र तीर्थराज विश्वकर्माले अभिनय गर्नु भएको छ ।
याङ्सिलाको सतिसालेमा भेला भएका सयौंले नाटक हेरेका थिए । नाटकले सालक संरक्षणमा टेवा पुग्ने स्थानीयको विश्वास रहेको छ ।

























