बेलबारी । मोरङको बेलबारीमा साहित्यकार नवराज पोख्रेलद्वारा लिखित ‘शिलाजित’ मुक्तक सङ्ग्रहको ३० बैशाखमा लोकार्पण गरिएको छ ।
बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा प्रा.डाक्टर टङ्कप्रसाद न्यौपानेले मुक्तक संग्रहको लोकार्पण गर्नुभयो । शिलाजितको लोकापर्ण गर्दै युवापुस्ताले पछिल्लो समय रुचाएको साहित्य सिर्जना मुक्तक भएको बताउनु भयो । एक बसाईमा सुन्न र पढ्न सकिने भएकोले मुक्तक प्रति आकर्षण बढेको न्यौपानेले उल्लेख गर्नुभयो । उहाँले ठूला ग्रन्थ पढ्न पाठकहरू अल्छी मान्छन् । मुक्तक छोटा र चोटिला हुन्छन् । ब्यङ्ग हुन्छ, त्यसैले मुक्तक चलेको विधा हो ।
मुक्तक साहित्य प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष एवम् कवि तथा समालोचक बाबुराम पोख्रेलले नेपाली साहित्यले एउटा अब्बल कृति पाएको बताउनुभयो ।भाषाविद् अमृतप्रसाद आचार्यले शिलाजित मुक्तक संग्रहमा ४४४ मुक्तक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय आधुनिक सुचना प्रणालीले पठन संस्कृति हराए पनि युवापुस्ताले मुक्तक पढ्न नछोडेको बताउनु भयो । कवि रोहिणी रसिकले मुक्तक संग्रह शिलाजित र मुक्तककार नवराज पोख्रेलको कृति एवम् ब्यक्तित्वका विषयमा प्रकाश पार्नु भएको थियो ।
मधुमाया भट्टको नाममा साहित्यिक अक्षयकोष स्थापना गरिएको कार्यक्रममा १३ जना साहित्यिक स्रष्टाले आफ्नो रचना सुनाउनु भएको थियो । हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा लेखक तथा पत्रकार केशु विरहीले मुक्तककारको जीवनी माथि प्रकाश पार्नुभयो ।कार्यक्रममा कवि भरत वर्वरिक,बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भुपेन्द्रप्रसाद कोइराला, बेलबारी साहित्य समाजका अध्यक्ष रमेश निरौलाले शुभकामना ब्यक्त गर्नु भएको थियो ।

























