Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
उर्लाबारी । मोरङको उर्लाबारीमा टर्मिनल भवनसहितको बसपार्क निर्माण हुने भएको छ । यसअघि २०७१ सालमा निर्माण सुरु भएको वसपार्क ११ वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि नयाँ आयोजना सुरु गरिएको उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलले बताउनु भयो ।
उहाँका अनुसार बिहीबार नगरपालिकामा निर्माण कम्पनी अभि डिजाइनर्स एण्ड डेभलपर्स प्रालि.हेटौंडासँग ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपियाँमा निर्माण सम्झौता भएको छ । सम्झौता भए अनुसार यो आयोजना १८ महिनाभित्र सम्पन्न गर्नु पर्नेछ ।नगरको वडा नम्बर ६ स्थित एक बिघा १३ कठ्ठा जग्गामा बसपार्क निर्माण हुनेछ । नगर विकास कोषको ६० प्रतिशत ऋण, नगरपालिकाको ३० प्रतिशत लगानी र नगर विकास कोषको १० प्रतिशत अनुदान सहयोगका बसपार्क बन्न लागेको नगर प्रमुख खरेलको भनाई छ । स्रोत सुनिश्चित भएकोले १८ महिना भित्रै सुविधासम्पन्न बसपार्क बन्ने उहाँले बताउनुभयो ।
झण्डै ८० हजार जनसङ्ख्या भएको उर्लाबारीबाट सहायक मार्गमा चल्ने तथा पूर्वपश्चिम ‘एसियन हाइवे’ रूटका सवारीसाधनलाई व्यवस्थापन गर्न बसपार्क आवश्यक थियो । नगरको सौन्दर्यीकरणका लागि पनि बसपार्क अनिवार्य भइसकेको नगर प्रमुख गङगाप्रसाद खरेलको भनाई छ । नगर प्रमुख खरेलले यस आयोजनालाई नगरको गौरवको आयोजनाका रुपमा अघि बढाइने उल्लेख गर्नुभयो ।
स्थानीयले एक विघाा १३ कट्ठा जग्गा निशुल्क उपलब्ध गराएपछि २०७१ मा उर्लाबारी बसपार्क निर्माणको प्रक्रिया सुरु भएको थियो । तर, राज्य पुनर्संरचना भएपछि बजेट निकासा रोकियो । बहुवर्षीय आयोजनाका रुपमा निर्माण भइरहेको बसपार्कका लागि ०७६÷०७७ मा ५० लाख रुपियाँ आएयता कुनै बजेट आएन ।त्यसपछि बसपार्कमा निर्माण भएका संरचनाहरू भत्किन थाले ।
बहुवर्षीय योजना अन्र्तगत निर्माण सुरु भएको बसपार्कका लागि बजेट जुटाउन वडा ,नगर र प्रदेशले पहल गरेपनि कुनै निकायले थप बजेट नपठाएकोले बसपार्क निर्माण हुन सकेको थिएन । वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भन्नुभयो – तत्कालिन सङ्घीय सांसद घनश्याम खतिवडा र एमाले नेता भूपालसिंह जिमीको सहयोगमा प्रदेश र सङ्घीय कार्यालय पुग्यौं । तर, बजेट छैन् भन्ने जवाफ आयो । त्यसपछि बसपार्क निर्माण कार्य रोकिएको थियो ।
नयाँ ठेक्कामा टर्मिनल भवन सहित बसपार्कको रन वे ,सपोर्टवाल,ड्रेन निर्माण, प्रमुख राजमार्गबाट बसपार्क पुग्ने पहुँचमार्ग कालोपत्रे ,स्थानीय र लामो दुरीका बसको बिसौनी लगायतका काम हुनेछन् । शौचालय र प्रतिक्षालय सामान्य मर्मत पछि सञ्चालन गर्न सकिने अवस्थामा रहेछन् ।



Share via
Send this to a friend