हरिप्रसाद कोइराला
लेटाङ । मोरङको लेटाङ नगरपालिका–१ स्थित राजारानी पर्यटनस्थलको संरक्षण तथा सौन्दर्यीकरण कार्य सकिएको छ । भौतिक प्रगति शत प्रतिशत पुरा भएपनि वित्तीय प्रगति ७६ दशमलव ४२ प्रतिशत मात्र भएकोले आयोजनाको औपचारिक उद्घाटन हुन सकेको छैन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत ताल परिसरको संरक्षण र सौन्दर्यीकरण कार्यक्रम सञ्चालन भएको हो । नगर प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार कुल लागतको ३५ प्रतिशत नगरले र ६५ प्रतिशत मन्त्रालयले ब्योहोर्ने गरी आयोजना सञ्चालन भएको हो । राजारानी ताल संरक्षण तथा सौन्दर्यीकरण आयोजनाका लागि १२ करोड रुपियाँको विस्तृत आयोजना प्रतिवेदन डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) बनाइएको थियो ।
निर्माण कम्पनी सिएम जोशी स्लेट जेभी र नगरपालिका बिच २०७८ साल जेठ ३१ गते ५ करोड ६० लाख ९८ हजार ११२ रुपियाँमा ७९ पैसामा निर्माण सम्झौता भएको थियो । तर आयोजनाको शिलान्यास ६ महिनापछि २०७८ मङ्सिर २ गते लेटाङ नगरपालिकाका तत्कालिन नगरप्रमुख शङ्कर राईले गर्नुभयो । ४२ प्रजातिका दुर्लभ सुनाखरी पाइने यस स्थानमा तीन वटा अलग अलग पोखरी छन् ।
राजा, रानी र राजकुमारी पोखरी नाम दिइएका ति पोखरी परिसरमा दुर्लभ कछुवा,अजिंगर,सर्प र चराचुरुङ्गी पाइन्छन् । राजारानी क्षेत्रको अर्को ऐतिहासिक पक्ष छ । झापा, मोरङ र सुनसरी जिल्लामा बस्ने अल्पसंख्यक धिमाल समुदायको उद्गमस्थल हो । यद्यपि, हाल उक्त क्षेत्रमा धिमाल समुदायको स्थायी बसोबास छैन् । धिमाल राजा युद्ध गर्न मधेस झरेपछि राजाले युद्ध हारे । युद्ध हारको पीडाले राजाकी श्रीमती छोरीसहित पोखरीमा हाम फालेर मरे । त्यसैका आधारमा तीनवटा पोखरीलाई राजा, रानी र छोरी(राजकुमारी) पोखरी भनेर नामाकरण गरिएको किम्वदन्ती छ । त्यहाँ धिमाल समूदायसँग जोडिएका थुप्रै ऐतिहासिक महत्वका पुरातात्विक वस्तुहरू फेला परेपछि नगरले त्यसको संरक्षण सुरु गरेको छ ।
ती पोखरीहरूको छेउमा मगर जातिका पुजारीद्वारा पूजा गरिँदै आएको ऐतिहासिक राजारानी मन्दिर पनि रहेको छ। हाल दैनिक २५० देखि ३ सय जनासम्म अवलोकनकर्ताहरू पुग्ने गरेको वडा नंम्बर १ का वडाध्यक्ष विष्णुकुमार मगरले बताउनु भयो । उहाँका अनुसार राजारानी पोखरी क्षेत्र ३२ हेक्टरमा फैलिएको छ ।हाल पोखरी वरिपरी हिड्ने पैदल पथ, ठाउँ ठाउँमा टहराहरू विद्युतीकरण ,बस्ने फलैचाहरू निर्माण गरिसकिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरबाट करिब ५० किलोमिटर उत्तरमा अवस्थित यस क्षेत्रमा हाल धमाधम होमस्टे सञ्चालन हुन थालेका छन् ।
ठेक्का अङ्क मध्ये हालसम्म ४ करोड २८ लाख ५७ हजार ६२० रुपियाँ मात्र निर्माण कम्पनीलाई भुक्तानी भएको छ । बाँकी रकम संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नपठाएकोले भुक्तान हुन बाँकी रहेको नगरपालिकाका इन्जिनीयर भानुभक्त राईले बताउनु भयो । हालसम्म २ करोड २६ लाख ३८ हजार ९ सय रुपियाँ मात्र मन्त्रालयबाट निकासा भएको इन्जिनीयर राईको भनाई छ ।
लेटाङ नगरपालिकाले ब्याहोर्नु पर्ने ३५ प्रतिशत १ करोड ९६ लाख रुपियाँ हुन्छ । अब नगरले ६ देखि ७ लाख रुपियाँ दिन बाँकी रहेको नगरप्रमुख भूपेन्द्रकुमार लावतीले जानकारी दिनुभयो। उहाँका अनुसार राजारानी क्षेत्र लेटाङ नगरको पहिलो पर्यटकीय गन्तव्यको रूपमा विकासित भइरहेको छ । तराईको नगरपालिका भए पनि गुराँस फुल्ने लेक देखि साल फुल्ने तराई समेत रहेको यो नगरपालिका पर्यटकीय दृष्टिले मोरङको सुन्दर नगरपालिका भित्र पर्छ ।
























