Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे । मोरङमा सबैभन्दा बढी भुमिहिन दलित,भूमिहिन सुकुम्बासी र अब्यवस्थित बसोवासी रहेको पथरीशनिश्चरे नगरपालिकाको वडा नं.४ मा धनीपूर्जा वितरण अन्तिम चरणमा पुगेको छ । धनीपुर्जा पाइन्छ, भनेर साडे चार दशक देखि माटो खनिखोस्री गर्ने धेरै जसो बुढापाका बितिसक्नु भयो । जति रहनु भएको छ । उहाँहरूलाई पनि बिगत कोट्याउन मन लाग्दैन । ९० पुग्न लागेकाहरू बिगत विस्मृत भएको बताउनु हुन्छ ।
वर्षभरिको कमाइले ४ महिना खान पुग्दैन थियो । अभाव र सङ्कटमा मरेर बाँच्नु भन्दा तराईमा संघर्ष गर्ने सपना बोकेर धनबहादुर लिम्बू २०३५ सालमा ताप्लेजुङ जिल्लाको साविक हाङ्देवा गाउँ पञ्चायत वडा नंं ७ बाट मोरङ झरेको बताउनु हुन्छ । श्रीमती र बालक छोरालाई डोकोमा बोकेर मोरङ झर्न उहाँलाई सात दिन लाग्यो । उसबेला तराईमा धानको भात खान पाइने,घरखेत जोड्न सकिने सपना बोकेर तराई झर्नु भएका लिम्बू अझै सुकुम्बासी नै हुनुहुन्छ ।
मोरङको केचनामा ससुराली घर थियो । त्यहीँ बस्न थाल्नुभयो । ससुरालीको बसाइ किन दिगो हुन्थ्यो र ? माछा र पाहुना तीन दिनमा गन्हाउँछ भन्ने उखान धनबहादुरमा पनि लागु भयो ।२०३६ सालमा सुरु देखि नै जनमत सङ्ग्रह हुने हल्ला चलेको थियो । बहुदल पक्षले जङ्गल फडानी गरेर सुकुम्वासीहरूलाई बसोवास गराउँछ भन्ने ब्यापक हल्ला थियो । त्यसबेला लिम्बू ३३ वर्षको लक्का जवान हुनुहुन्थ्यो । आशा भरोसा भनेकै बहुदल पक्षका नेताले झोडामा बसोवास गराउँछन् भन्ने मात्र थियो ।
२०३६ साल फागुन १० गते राजाबाट जनमत सङ्ग्रहको घोषणा भयो । त्यसपछि झोडामा ढालफाँड सुरु भयो । यही मौकामा धनबहादुरले पनि झोडा फाँडेर एउटा झुप्रो हाल्नु भयो । तर, त्यति गर्दा पनि बसाई दिगो भएन । तीन ठाउँमा सरेपछि बल्ल हाल बसिरहेको ताप्लेजुङे टोलमा श्रीमती र छोरो थन्क्याउनु भयो । जङ्गल फाँडेको ठाउँ जङ्गली जनावरको दुख थियो। बाँदर, दुम्सी, जरायो, खरायोको आतङ्क सही नसक्नु थियो । जता खन्यो रुखका जरा मात्र ।
धनबहादुरले ताप्लेजुङ्गे टोलको डेढ विघा जग्गाको धनीपूर्जा पाउने सपना बोकेर बसेको ४५ वर्ष भयो । नाति पनि अहिले २७ वर्षको पुग्यो , तर धनीपूर्जा हात परेको छैन । धनबहादुरले भन्नुभयो – श्रीमती बितिन । म पनि ८० वर्षको भएँ । हामी आउँदा पञ्चायतको बयरवन ९ थियो । पछि बयरवन टुक्रेर शनिश्चरे–७ भयो ।लोकतन्त्रपछि पथरीशनिश्चरे १४ भयो । अहिल गणतन्त्रमा पथरीशनिश्चरे –४ भएको छ । भूगोल उही हो । ब्यवस्था फेरिँदै पिच्छे ठेगाना बदलियो । तर, हाम्रो दैनिकी बदलिएको छैन । उहाँले थप्नुभयो – चार कोरीको भएँ ,अब चाँहि धनीपूर्जा पाइन्छ कि ?
पुरै जीवन समर्पण गरी माटो रुँघेर बस्ने धनबहादुर लिम्बू प्रतिनिधि पात्र मात्र हुनुहुन्छ ।उमेर छँदै पुर्जा पाएको भए केही उद्यम गर्ने सपना बोकेका धेरै धनबहादुरहरूको मृत्यू भइसकेको छ ।
ताप्लेजुङको हाङ्देवाबाट सँगै झर्नु भएका सञ्जबहादुर लिम्बूको भोगाई अझ पीडादायी छ । ताप्लेजुङबाट सात दिन लगाएर तराई झर्नु भएका उहाँ हसन्दहमा काकाको घरमा आएर भारी बिसाउनु भयो । पाँचजनाको परिवार सधैं पाहुना बस्न नमिल्ने । त्यसपछि छहारी खोज्दै हिड्नु भयो । जनमत सङ्ग्रहको घोषणापछि उहाँ पनि अहिले बसेको ठाउँमा आएर टुङ्गो लाग्नु भयो । उसबेला तीन बिघा जति जग्गा ढालफाँड गर्नु भएका लिम्बूसँग हाल १२ कट्ठा मात्रै छ । दाजुभाई बिच अंश भयो । जग्गाको बिचबाट सडक खुल्यो । उहाँले भन्नुभयो –जग्गाको धनीपूर्जा पाउने सपना बोकेर हिडेको ४० वर्षभयो । सुरुका पाँच वर्ष त कतिबेला पुलिस लगाएर उठाउला भन्ने भय र चिन्तामा बित्यो । १९ वर्षको उमेरमा जङ्गल ढालफाँड गर्नुभएका लिम्बू अहिले ६५ वर्षको पुग्नुभयो । धनीपूर्जा देख्न नपाउँदै आमा बितिसक्नु भयो । दाजुभाइको अंश ,छोरा छोरीको बिहे दान सबै त्यही गर्नुभयो ।
भोजपुरको प्याङबाट आठ दिन लगाएर तराई झर्नु भएका ७७ वर्षीय धनबहादुर राई अहिले केही गर्न सक्नुहुन्न ।आठ वर्ष अघि उच्च रक्तचापले हानेपछि उहाँका हातखुट्टा राम्रो गरी चल्दैनन । पथरीशनिश्चरे –४ को च्याङ्गा होलीमा बस्दै आउनु भएका राईले बिगत सम्झदै भन्नुभयो –दाजु भारतीय सैनिकको सुविदार हुनुहुन्थ्यो । तर,दाजुले मलाई केही दिनु भएन ।जति गरे पनि खान लगाउन नपुग्ने । अनि भगवान पुकार्दै तराई झरें । तराई झरे पछि आठ दश वर्ष झनैं दुख खेप्नु प¥यो । १० वर्ष जति त निगुरो र चालम एउटै भाडामा पकाएर खायौं ।
हालको पथरीशनिश्चरे –४ मा आएर झोडा ढालफाँड गर्ने बुढापाकाहरू सकिँदै गए । भएका बुढापाकाहरू विगत कोट्याएर आफ्नो दुख सुनाउँन चाहननु हुन्न । पथरीशनिश्चरे –४ का वडाध्यक्ष लोककिरण न्यौपानेले भन्नुभयो – साउन ९ गते उहाँहरूले तिर्ने राजश्वको अङ्क तय हुन्छ । एक कट्ठा सम्म जग्गा प्राप्त गर्ने भूमिहीन दलितले पैसा तिर्नु पर्दैन । एक ,डेढ बिघा हुनेले थोरै राजश्व तिर्नुपर्छ । उहाँका अनुसार वडा नं. ४ का पाँच परिवार भूमिहनि दलित,५४ परिवार भूमिहीन सुकुम्बासी र १५५ परिवार अब्यवस्थित बसोबासीले धनीपूर्जा पाउने पक्का भएको छ । आयोगले भूमि सम्बन्धी ऐन २०२१ को दफा ५२ (ख)को उपदफा (४) र भूमि सम्बन्धी नियमहरू २०२१ को नियम ४१(ख)को उप नियम (४) अनुसार वितरण गर्न लागिएको जग्गामा कसैको हक दाबी भए सात दिन भित्र दाबी गर्न सुचना निकालेको छ । साउन २ गते निकालेको सूचनाको म्याद सकिएको छ । अब राजश्व तय गरी जग्गाको धनीपूर्जा वितरण प्रक्रिया सुरु हुने वडाध्यक्ष न्यौपानेको भनाई छ ।



Share via
Send this to a friend