Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

हरिप्रसाद कोइराला
केराबारीे । धेरै तिर ठक्कर खाएपछि कृषि उद्यममा लाग्नु भएका मोरङको केरावारी–५ सतिसालेका २८ वर्षीय राजु राई अहिले नयाँ प्रविधिबाट मौरी पालन गरिरहनु भएको छ ।
बजारमा स्थानीय सेरेना जातका मौरीको महको माग उच्च छ । नश्ल सुधार गरिएका मेलिफेरा जातका मौरी भन्दा सेरेना जातका मौरी जुनसुकै वातावरणमा बाँच्न सक्छन् । मेलिफेरालाई असार देखि असोजसम्म चिनी र सातु खुवाएर बचाउनु पर्छ । तर, सेरेना आफैं पनि बाँच्न सक्छ । त्यसैले राजु राई यतिबेला माटोको घारमा सेरेना जातको ब्यावसायिक मौरी पालन गरिरहनु भएको छ । गत वर्ष उहाँले आफैं माटोको घार बनाउनु भयो । वातावरण मैत्री घारमा मौरीको रानो सार्नुभयो । मौरी रमाएर बसे । उन्नत जातका पाँच र स्थानीय जातका २० घार मौरी पालिरहनु भएका राईले भन्नुभयो –स्थानीय जातको मौरीले बनाएको बजार मूल्उ उच्च छ । २ हजार ५ सय रुपियाँ सम्म बिक्री हुन्छ । उन्नत जातको मह १ शजार दुई सयसम्म बिक्री हन्छ ।
अहिले मह उत्पादनसँगै स्थानीय जातको मौरी विस्तार अभियानमा लाग्नु भएका राई माटोको घार पनि एकठाउँबाट अर्को ठाउँमा सार्न सक्ने गरी बनाउने तयारी गरिरहनु भएको छ । मेलिफेरालाई नडुलाइकन हुँदैन । तर, सेरेनालाई डुलाउनु पर्दैन । उत्पादनका हिसावले स्थानीय जातको भन्दा दोब्बर मह उन्नत जातका मौरीले दिन्छन् । राजुका अनुसार घर आसपासका राङ्चा फाँटे गाउँमा राखेको मौरीको घारबाट यसै बर्ष ३० केजी मह उत्पादन भयो । अर्को बर्ष कम्तिमा सय केजी उत्पादन गर्ने लक्ष्य छ ।
मौरीको घार र मह दुबैको माग राम्रो छ । स्थानीय डुडमा उत्पादन गरे जस्तै मह उत्पादन गरेपछि राजुलाई बजारको अभाव नहुने ठम्याई भइसकेको छ । राजुकी श्रीमती पार्बती घरायसी खर्च ब्यबस्थापनको लागि घरमा सानो किराना पसल सञ्चालन गर्नुहुन्छ । त्यही पसलबाट मह बिक्री भइरहेको राजुको भनाई छ । आफैं उत्पादन गरेर आफैं बिक्री गर्दा अझ बढी फाइदा भएको राजुको भोगाई छ ।
मौरीपालन, किराना पसलसँगै बिभिन्न फलफुलको नर्सरी समेत सञ्चालन गर्दै आउनु भएका राजु राई यतिबेला पैसा कमाउन विदेश जानु नपर्ने बताउनु हुन्छ । कमजोर आर्थिक अवस्थाका राई कुनै समय ट्रेकिङ गाइड हुनुभयो । कहिले विदेश जान पासपोर्ट बोकेर मेनपावर कम्पनी धाउनु भयो । तर, कतैबाट पनि राजुले सुख पाउनु भएन । त्यसपछि पासपोर्ट थन्क्याएर उहाँ कृषि कर्ममा लाग्नुभयो ।
स्थानीय सावित्री माध्यमिक बिद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्ने पैसा जुटाउन सकिन । त्यसपछि सम्भावनाको खोजिमा झण्डै एक दशक डुलेरै बितेछ । बिदेश नजाने निर्णय गरेर फर्किएपछी धान फल्ने खेत मासेर राजुले उखु खेती सुरु गर्नुभयो । पहाडी गाउँबाट तल तल १५÷१६ किलोमिटर झरेर साइकलमा उखु बेचें । त्यसपछि साइकलमा उखु बेच्न छोडेर फलफुल, बोटबिरुवाका बेर्ना उत्पादन र बिक्रीको काम थालें, उहाँले भन्नुभयो ।
हजुरबुवा अमृत बहादुर राईले परम्परागत रुपमा बिरुवा उत्पादन गर्नु हुन्थ्यो । हजुरबुबाको काम आफैं थालेपछि आम्दानी मनग्ये हुनथाल्यो । आमा मङ्गमायाले भन्नुभयो –जेठो छोरालाई पढाउन सकेनौं तर, अहिले उ गाउँकै कृषि उद्यमी भएको छ । अहिले राजु मौरीपालनसँगै सुपारी,कटहर,लिची,आप लगायत फूलका बिरुवा उत्पादन गर्ने र बेच्ने काम गरिरहनु भएको छ । खर्च छैन्, सबै काम आफै गर्नुहुन्छ ।
मेनोनाईट सेन्ट्रल कमिटी नेपाल र ब्रेड फर द वल्र्ड जर्मनीको सहयोगमा पहाडी ग्रामीण बिकास सस्था(हर्डन)द्वारा सन्चालित‘युवा स–शक्तिकरण तथा पर्यावरणमैत्री उद्यम परियोजना’ले २ बर्ष अघि सञ्चालन गरेको तालिममा सहभागी भएर राजुले आफूलाई मात्र बदल्नु भएन । गाउँमा उद्यम गर्न युवालाई उर्जा पनि प्रदान गर्नुभयो ।



Share via
Send this to a friend