हरिप्रसाद कोइराला
केराबारी । मोरङको केरावारी–३ फूलबारी टोलकी सरस्वती विश्वकर्माले दूग्ध सङ्कलन र बिक्री गर्न थाल्नु भएको पाँच बर्ष भयो । २३ वर्षको उमेरमा दुग्ध सङ्कलन तथा बिक्री सुरु गर्नु भएकी सरस्वतीलाई जातीय छुवाछुतबाट माथि उठ्न कठिन सङ्घर्ष गर्नुप¥यो । साना छोराहरू सँगै लिएर काम गर्नु पर्ने बाध्यता, समाजको जातीय विभेदका कारण दूध ब्यापारमा समस्या,आर्थिक कठिनाइ र हतोत्साहित गर्नेहरूको बुलन्द आवाज । यि सबै समस्यालाई चिर्दै उहाँ अहिले समाजमा स्थापित दूग्ध ब्यावसायि बन्नु भएको छ ।
गणतन्त्र आए पनि समाजमा जातीय चेतना नआएको पीडा सरस्वतीले लामो समय भोग्नु प¥यो । सरस्वती भन्नुहुन्छ–जातीय कारणले नै सुरुका दिनमा धेरैपटक दूध फाट्यो, दही बिग्रियो, पनीर कुहियो । अपमानको चाङ थियो । कहिलेकाहीँ मजदुरी गर्न जाऔं भन्ने पनि लाग्यो । तर, साना नानीहरू सँगै लिएर हिड्न गाह्रो थियो । ब्यावसायमा तीन÷चार लाख लगानी फसिसकेको थियो । त्यसैले सङ्घर्षको विकल्प थिएन , सरस्वतीसँग ।
सरस्वतीका श्रीमान् नेपाली सेनामा जागिरे हुनुहुन्छ। श्रीमान्को हौसला र उत्तरी मोरङ पहाडी विकास संस्थाको हर्डनले दिएको आँटले उहाँ कामबाट पछि हट्नु भएन । हर्डनले ब्यावसायमा लाग्न प्रेरित ग¥यो । विभेद बिरुद्ध बोल्न सिकायो । सुरुका दिनमा दूध किन्न र बेच्न हिच्किचाउनेहरू अहिले निर्वाध रुपमा किन्ने बेच्ने गर्नुहुन्छ ।
हाल उहाँले केरावारी –३ को दाहालचोक र ७ को फूलबारीटोलमा दूध सङ्कलन केन्द्र राख्नु भएको छ ।केन्द्रमा दैनिक करिब तीन सय लिटर दूध सङ्कलन हुने गरेको छ। आफ्नै गाडीमार्फत सङ्कलित दूध नेपाली सेनाको याङशिला स्थित कालापानी ब्यारेकमा आपूर्ति हुन्छ। ५०÷६० लिटर दूध स्थानीय बजारमै बिक्री हुन्छ।
उद्यमशिलतालाई प्रवद्र्धन गर्न स्थानीय सरकारले सरस्वतीलाई ५ लाख रुपियाँ अनुदान पनि दियो । सरस्वती अहिले महिनामा झन्डै ३० हजार रुपियाँ खर्च कटाएर बचाउनु हुन्छ । किसानलाई महिनैपिच्छे दूधको भुक्तानी गर्नुपर्ने हुँदा कहिलेकाहीँ आफ्नो रकम रोकिए पनि किसानलाई पैसा रोक्नु भएको छैन् । घरमा सासु–ससुरा र दुई छोरा छन् । छोराहरूलाई नीजि विद्यालयमा पढाउनु हुन्छ । उहाँले भन्नुभयो –अझै जातीय विभेद सकिएको छैन् । तर,धेरै सुधार भएको छ । ब्यापारमा प्रत्यक्ष असर नदेखिए पछि बाहिर कुरा काटेर केही हुन्न भनेर म आफ्नो ब्यावसायमा दृढ भएर लागेकी छु ।

























