हरिप्रसाद कोइराला
रङ्गेली । सञ्चार र बैङ्किङ सेवा गाउँ गाउँसम्म पुगे पनि विद्युत उपभोक्ताले विद्युतीय भुक्तानीलाई अझै पत्याउन सकेका छैनन्् । नेपाल विद्युत प्राधिकरण रङ्गेली वितरण केन्द्रका प्रमुख पंकजकुमार गोइतका अनुसार रङ्गेलीमा ५१ प्रतिशत ग्राहकले कार्यालयमै पुगेर विद्युत महसुल बुझाइरहेका छन् ।
रङ्गेली वितरण केन्द्रले दक्षिणी मोरङका कानेपोखरी, धनपालथान गाउँपालिका र रङ्गेली, सुनवर्षी र रतुवामाई नगरपालिकाका ३ लाख ४५ हजार ८१३ ग्राहकलाई विद्युत सेवा दिँँदै आएको छ । कार्यालय प्रमुख गोइतका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा ४७ दशमलव ८८ प्रतिशत ग्राहकले विद्युतीय माध्यमबाट महसुल भुक्तानी गर्नु भएको थियो । विद्युतीय माध्यमबाट १ लाख ६५ हजार ५७५ जना ग्राहकबाट १५ करोड ७० लाख ८२ हजार ६८१ रुपियाँ १६ पैसा सङ्कलन भएको थियो । कार्यालय प्रमुख गोइतका अनुसार २७ किलोमिटर टाढासम्म वितरण केन्द्रले विद्युत वितरण गरेको छ । भौगोलिक रुपमा टाढा भएका ग्राहक समेत विल बोकेर कार्यालय आउने गर्नुहुन्छ । उहाँका अनुसार गतवर्ष १ लाख ८० हजार २३५ जना ग्राहकले कार्यालयमा लाइन लागेर विद्युत महसुल तिर्नुभयो । कार्यालयमा २२ करोड ३९ लाख ८२ हजार ५८५ रुपियाँ ३० पैसा जम्मा भएको थियो । जम्मा भएको रकम अनुसार विद्युतीय माध्यमबाट ४१ दशमलव २२ प्रतिशत र कार्यालयबाट ५८ दशमलव ७८ प्रतिशत रकम जम्मा भएको छ ।
रङ्गेली वितरण केन्द्रले गत आर्थिक वर्षको असार मसान्तसम्म १३ करोड ४९ लाख ५० हजार ९४६ रुपियाँ ४५ पैसा उठाउन सकेको छैन् । यो बक्यौता सरकारी तथा गैर सरकारी विभिन्न १३ निकायको हो । कार्यालय प्रमुख गोइतका अनुसार सबैभन्दा वढी बक्यौता घरायसी प्रयोजनको रहेको छ । हालसम्म ४ करोड ६१ लाख १३ हजार ६८२ रुपियाँ घरायसी विद्युत खपतको बक्यौता रहेको छ । यसैगरी सडक वत्तीको ३ करोड ६८ लाख ५४ हजार १४१ रुपियाँ र सरकारी कार्यालयहरूको ३ करोड ३० लाख ७ हजार ८५७ रुपियाँ ६७ पैसा बक्यौता रहेको छ ।
केन्द्रले गत वर्ष ३८ करोड १० लाख ६५ हजार २६६ रुपियाँ ४६ पैसा विद्युत महसुल उठाएको थियो । यो महसुल अघिल्लो आव २०८०÷०८१ भन्दा ४ करोड८७ लाख ५७ हजार ७४४ रुपियाँ ७१ पैसाले बढी हो । एक वर्षको अवधिमा रङ्गेली वितरण केन्द्रमा २८ हजार ७८८ ग्राहक बढेका छन् । आवमा २०८०÷८१ मा ३ लाख १७ हजार २५ जना ग्राहक रहेकोमा गत आवमा ३ लाख ४५ हजार ८१३ ग्राहक पुगेका थिए ।

























