हरिप्रसाद कोइराला
पथरीशनिश्चरे । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि सिराहाको सलहेश फुटबल क्लबले जितेको छ ।
आयोजक पथरी ११ फुटबल क्लबलाई घरेलुु मैदानमा २–१ गोलले हराउँदै सलहेश फुटबल क्लबले दोस्रो संस्करणको उपाधि जितेको हो ।
जितसँगै सलहेशले नगद ५ लाख रुपियाँ सहित गोल्डकप प्राप्त गरेको छ,भने उप विजेता पथरी ११ फुटबल क्लब पथरीशनिश्चरेले नगद दुई लाख पचास हजार रुपियाँ सहित उप विजेताको ट्रफि पाएको छ ।
खेलको १८ ओैं मिनेटमा पथरी ११ का अग्रपक्तिका खेलाडी निरज परियारलाई सलहेशका कारिम ओमेलाजाले फल्ड गरेपछि पथरी –११ ले पेनाल्टी प्रहारको अवसर पाएको थियो । पथरी–११ धिरेन क्षेत्रीले पेनाल्टी सदुपयोग गर्दै टिमलाई १–० को अग्रता दिलाउनुभयो । तर, पथरीले अग्रतालाई लामो समय टिकाउन सकेन ।
मध्यान्तर अघि १–० गोलले अघि रहेको आयोजक पथरी–११ ले मध्यान्तरपछि रक्षात्मक खेल खेलेको थियो । खेलको ५६औं मिनेटमा बल लिएर अघि बढ्नुभएका सलहेशका रिचार्ड विल्सनलाई पथरीक गोल रक्षकले अघि बढेर लडाएपछि सलहेशले पनि पेनाल्टी प्रहारकाृे अवसर पाएको थियो । सहलेशका जय गुरुङले कुनै गल्ती नगरि प्रहार गरेको पेनाल्टी प्रहार गोलमा परिणत भयो । घरेलुदर्शकको समर्थन पाएको पथरी –११ बिरुद्ध खेलको ६९ औं मिनेटमा समीर तामाङले एक गोल गर्नुभयो ।
फाइनल खेलमा जय गुरुङ म्यान अफ द म्याच घोषित हुनुुभयो । यस्तै उत्कृष्ठ गोल रक्षकको उपाधि सलहेशका रेम्बो चौधरी,बेष्ट डिफेन्स सलहेशका प्रवेश दनुवार,बेष्ट मिड फिल्डर आयोजकका सञ्जय लिम्बू,बेष्ट प्रशिक्षक सलहेशका राजीव यादव,राइजिङ प्लेयर आयोजकका समीर क्षेत्री र सर्वाधिक गोलकर्ताको उपाधि सलहेशका रिचाडए विल्सन घोषित हुनुुभयो । उहाँहरूलाई नगद १० हजार सहित ट्रफि प्रदान गरियो ।
यस्तै प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित हुँदै युकेश तामाङले नगद १५ हजार र ट्रफि प्राप्त गर्नुभयो ।
विजेता,उप विजेता र विधागत उत्कृष्ठ घोषित खेलाडीलाई पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापो,क्लबका अध्यक्ष सुमन विक,एन्फाका केन्द्य्रीय सदस्य दीपेन्द्र धिमाल, मोरङ फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकीले नगद तथा ट्रफि प्रदान गर्नुभयो ।

























