Latest Post
{"ticker_effect":"slide-v","autoplay":"true","speed":"2000","font_style":"bold"}

लेटाङ । पूर्वको ब्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको मसलाजन्य कृषि उत्पादन तेजपातको निर्यात खुम्चिदै गएको छ । पाँच वर्ष अघिसम्म भारततर्फ मात्र निर्यात हुने यो कृषि उत्पादन हाल वेल्जियम ,जापान र पाकिस्तानमा पनि निर्यात हुन थालेको छ । निकासी हुने देश बढेपनि निर्यात घट्दा नेपालको ब्यापार घाटा बढेको छ ।
ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र विराटनगरका सूचना अधिकारी देवराज न्यौपानेका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा १९ करोड ९९ लाख ३५ हजार रुपियाँको दुई हजार ४१६.१ मेट्रिक टन तेजपात निकासी भएको थियो । केन्द्रका अनुसार जसमध्ये भारत तर्फमात्र १९ करोड ८२ लाख१६ हजार रुपियाँको दुई हजार ४०० दशमलव ३५८ मेट्रिक टन तेजपात निर्यात भएको थियो । यस्तै बेल्जियममा ११ हजार रुपियाँको १० किलो र जापानमा १७ लाख ८ हजार रुपियाँको १५ हजार ७३३ किलो निर्यात भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा २६ करोड २९ लाख २५ हजार रुपियाँको २ हजार ६९६ दशमलव ९२९ मेट्रिक टन तेजपात निर्यात भएको थियो । जसमध्ये भारत तर्फ २६ करोड १३ लाख ७२ हजार मूल्यको २ हजार ६९५ दशमलव ०५ मेट्रिक टन निर्यात भएको थियो । सोही वर्ष पाकिस्तानमा एक लाख ३२ हजार रुपियाँको एक हजार किलो र जापानमा १४ लाख २० हजार मूल्यको ८७९ किलो तेजपात निर्यात भएको थियो ।
केन्द्रको तथ्याङ्क अनुसार आव २०८०÷०८१ को तुलनामा आव ०८१÷०८२ मा ६ करोड १४ लाख ३७ हजार रुपियाँ कमको तेजपात निर्यात भएको छ । परिमाणमा तुलना गर्ने हो भने गत वर्षको निर्यात अघिल्लो आवको तुलनामा २८० दशमलव ८२९ मेट्रिक टनले कमी हो ।
निर्यात खुम्चिनुको प्रमुख कारण नेपालका मसला उद्योगले खपत बढाउनु हो । यो सँगसँगै जङ्गलबाट प्राप्त हुने वस्तुका रुपमा स्थानीय सरकार र वन कार्यालयहरूले ठाउँ ठाउँमा ढाट राखेर कर असुल्न थाल्नु हो ।
उत्तरी मोरङका लेटाङ नगरपालिका, केरावारी र मिक्लाजुङ गाउँपालिकासँगै धनकुटा, पाँचथर र इलामका दक्षिणी गाउँको सम्पूर्ण उत्पादन लेटाङका सङ्कलन केन्द्रमा जम्मा हुने गरेको छ । १२ वर्षयता तेजपातको खरिद बिक्री गर्दै आउनु भएका लोकबहादुर लिम्बूले भन्नुभयो–‘नेपाल मै प्रसस्त मसला उद्योग खुलेकोले तेजपातको निकासी घटेको छ । माग भारतबाट मात्र होइन, पाकिस्तान,जापान लगायतका देशबाट पनि आएको छ ।’तर ब्यापारमा झन्झट थपिएको छ ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्रकुमार लावतीले नगरले प्रति वण्डल १२० रुपियाँ निकासी कर लिँदै आएको बताउनु भयो । नगरपालिका भन्दा पनि बन कार्यालयले नीतिगत गाँठो नफुकाउँदा निर्यात बढाउन नसकिएको उहाँको भनाई छ। उहाँका अनुसार तेजपात नीजि जग्गामा मात्र लगाइदैन । सरकारी, ऐलानी, पर्ती र जङ्गलबाट समेत किसानले काटेर बेच्छन् । बन कार्यालयहरूले जडिबुटी जन्य बनस्पति जङ्गलबाट ओसार पसार गर्न नदिने भन्दै समय समयमा रोक्ने गरेको छ । यो नीतिगत समस्या फुकाउन सके तेजपातको निर्यात बढाउन सकिने नगरप्रमुख लावती बताउनु हुन्छ।

 



Share via
Send this to a friend